भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट सूचीमा पर्न सफल

१७ भाद्र २०८०, आईतवार १९:१३

भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ का गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट सूचीमा पर्न सफल भएका छन् ।अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले उनलाई ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा’ ‘ए प्लस’ ग्रेडिङ दिएको हो ।

‘ए प्लस’ ग्रेडिङ पाएका तीन केन्द्रीय बैंक गभर्नरहरुको सूचीको शीर्ष स्थानमा गभर्नर दासलाई राखिएको आरबीआईले एक्स (ट्वीटर) मार्फत जानकारी गराएको छ । दासपछि स्विट्जरल्याण्डको केन्द्रीय बैंकका गभर्नर थोमस जे जोर्डन र भियतनामका गुएन थि होङ उत्कृष्ट सूचीमा परेका छन् । ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गर्ने गरेको छ ।

जसमा ‘ए’ ग्रेडले पूर्णरुपमा सफलताको र ‘एफ’ ग्रेडले पूर्ण असफलताको प्रतिनिधित्व गर्छ । ग्लोबल फाइनान्स पत्रिकाले सन् १९९४ देखि हरेक वर्ष केन्द्रीय बैंकर रिपोर्ट कार्ड प्रकाशित गर्दै आएको छ । यसले युरोपेली संघ, पूर्वी क्यारिबियन केन्द्रीय बैंक, केन्द्रीय अफ्रिकी देशहरुका सेन्ट्रल बैंक र पश्चिम अफ्रिकी राष्ट्रहरूको केन्द्रीय बैंक सहित विश्वका १०१ वटा प्रमुख देश र क्षेत्रहरुका केन्द्रीय बैंकका गभर्नरहरुलाई ग्रेड दिँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*