गभर्नर अधिकारीद्वारा एएफआईको वार्षिक बैठकमा सहभागिता

२ आश्विन २०८०, मंगलवार १३:३२

काठमाडौं । गभर्नर महा प्रसाद अधिकारी  भदौ २६ देखि २९ सम्म फिलिपिन्सको मनिलामा आयोजित एएफआईको वार्षिक बैठक र ग्लोबल पोलिसी फोरममा सहभागी भई भदौ ३० गते स्वदेश फर्किएका छन् । वार्षिक बैठकमा एएफआईको लेखापरीक्षण प्रतिवेदन, वित्तीय क्षेत्रमा लैङ्गिक समावेशिता तथा सूचना प्रविधिको प्रयोगसम्बन्धी प्रतिवेदनसहित सो संस्थाअन्तर्गत रहेका वित्तीय समावेशिता रणनीति, साना तथा मझौला उद्यममा कर्जा प्रवाह, विद्युतीय वित्तीय सेवा जस्ता कार्यदलका प्रतिवेदन पेस गरिएका थिए ।

बैठकले सन् २०२४ – २८ को निम्ति एएफआईको रणनीतिक योजना, मनिला घोषणापत्र, सन् सन् २०२३ – २५ को लागि सञ्चालक समितिको गठनसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । एएफआई सञ्चालक समितिको सदस्यको रूपमा मन्तव्य राख्दै गभर्नर अधिकारीले अन्य राष्ट्र र संस्थामा एएफआईको सदस्यस्ता विस्तार गरी वित्तीय र समावेशीकरणको प्रवर्द्धन, सदस्यहरूबीच क्षमता अभिवृद्धि र असल अभ्यासको आदानप्रदान गरिएको सम्बन्धमा गरेका छन् ।

एएफआई अन्तर्गतका ६ वटा क्षेत्रीय प्रयासहरू प्रारम्भ भएको र वित्तीय समावेशीकरणमा देखिएका चुनौतीलाई सम्बोधन गर्न यसबाट सहयोग पुगेको उल्लेख गर्दै उनले उक्त प्रयासको प्रशंसासमेत गरे । वित्तीय सेवामा सीमान्तकृत वर्गको पहुँच अभिवृद्धि, प्रविधिको प्रयोग, विद्युतीय वित्तीय सेवा, वित्तीय क्षेत्र र कारोबारको पारदर्शिता जस्ता विषयले समग्र अर्थतन्त्रमा पार्ने प्रभावका सन्दर्भमा राज्यका विभिन्न निकायले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाबारे चर्चा गरेका थिए ।

भ्रमणको क्रममा गभर्नर अधिकारीले फिलिपिन्सका केन्द्रीय बैंकका गभर्नर इली एम रेमोलोना जेआरसँग द्विपक्षीय छलफल गरेका थिए । त्यस क्रममा गभर्नर अधिकारीले दुई देशका केन्द्रीय बैंकबीचको सहकार्य र वित्तीय समावेशीकरणमा रहेका चुनौती र एएफआईको भूमिकाका विषयमा छलफल भएको थियो । उदीयमान तथा विकासोन्मुख अर्थतन्त्र रहेका ७६ मुलुकका केन्द्रीय बैंक र अन्य आठ वटा नियामक संस्था गरी कुल ८४ संस्थाहरू एएफआईको सञ्जालमा आबद्ध छन्

मलेसियाको क्वालालम्पुरमा यसको मुख्यालय अवस्थित छ । यसले वित्तीय समावेशिता अभिवृद्धिको लागि नियमनकारी निकायहरूसँग सहकार्य गर्दै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*