डिजिटल वित्तीय कारोबार बढ्दै, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३ करोड कट्यो

पुरुषोतम नेपाल
४ आश्विन २०८०, बिहीबार १२:४९

काठमाडौं । चालु आवको पहिलो महिनामा मात्रै विद्युतीय माध्यमबाट हुने डिजिटल भुक्तानमा मोबाइल बैंकिङको मात्रै ३३ प्रतिशत प्रयोग भएको पाइएको छ ।

विद्युतिय माध्यमबाट हुने कारोबारमा मोबाइल बैंकिङको प्रयोग सर्वाधिक हुनेगरेको तथ्यांकले देखाएको छ । नेपालमा विद्युतीय माध्यमबाट कारोबारका लागि मोबाइल बैंकिङ, डिजिटल वालेट, कनेक्ट आईपीएस, क्यूआर, इन्टरनेट बैंकिङ तथा आईपीएस जस्ता डिजिटल उपकरणहरु रहेका छन् । यी उपकरणहरुमध्ये मोबाइल बैंकिङ सर्वाधिक प्रयोग हुने गरेको पाइएको छ ।

मोबाइल बैंकिङ छिटो छरितो र विश्वासिलो भएको कारणले पनि यसको प्रयोग बढेको जानकारहरुले बताएका छन् । राष्ट्र बैंकले निर्धारित गरेको १५ फरक शीर्षकका विद्युतीय भुक्तानीबाट साउन महिनामा मात्रै जम्मा ९ करोड ६१ लाख ६२ हजार ५६३ पटक कारोबार भएको पाइएको छ । जसमध्ये ३ करोड १२ लाख ८१ हजार ५४६ पटक मोबाइल बैंकिङबाट कारोबार भएको तथ्यांकले देखाएको छ ।

नेपालमा सन् २००४ देखि नै मोबाइल बैंकिङको सुरुवात भएको थियो । पहिले विद्युतीय उपकरणको प्रयोग त्यति नभएकाले मोबाइल बैंकिङको प्रयोग पनि धेरै थिएन । प्रविधिको विकाससँगै विद्युतीय उकरणको प्रयोग बढ्दै गएको पाइन्छ । वर्तमान अवस्थामा मोबाइल बैंकिङको प्रयोग बढ्दो रुपमा रहेको छ । विशेषतः कोरोनापछि मोबाइल बैंकिङको प्रयोग व्यापक रुपमा बढ्दै गएको पाइएको छ । नेपालमा बढ्दै गएको डिजिटल भुक्तानीमा मोबाइल बैंकिङको प्रयोग सर्वाधिक देखिएको छ ।

२०७८ को जनगणनाको तथ्यांकले ७३ प्रतिशत नेपालीले स्मार्ट फोन प्रयोग गर्ने गरेको देखाएको छ । हाल नेपालमा ५ करोड ११ लाख ७७ हजारभन्दा बढी बैंक बचत खाता रहेकोमा २ करोड १६ लाख ९१ हजार खातावालाले मोबाइल बैंकिङ प्रयोग गर्ने गरेको तथ्यांकले देखाएको छ । कारोबारको सीमा अन्यभन्दा अधिक भएकाले पनि मोबाइल बैंकिङको प्रयोग व्यापक रुपमा हुने गरेको विज्ञहरुले बताएका छन् । आम ग्राहकमा वित्तीय साक्षरता बढ्दै गएमा यसको प्रयोग पनि बढ्दै जाने विश्लेषकहरुले धारणा राखेका छन् ।

अन्तराष्ट्रिय बजारको तुलनामा नेपालमा उपलब्ध डिजिटल भुक्तानी उपकरणमा सेवा सुविधा कम भएको र यसको क्षेत्रलाई विस्तार गरेर अन्य सवै सुविधाहरु एकै उपकरणमा उपलब्ध गराउन सकेमा यसको प्रयोगमा अझै ब्यापकता आउने जानकारहरुले उल्लेख गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*