सिटिजन्स बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा असोज २१ गते हुनेछ भने ढिलोमा कात्तिक १ गते हुनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।











