राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई)बीच सर्टिफिकेसन कोर्सको बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात चालु आर्थिक वर्षमा २०८०–८१मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको कार्यदक्षता अभिवृद्धिका लागि एनबीआईले हाललाई १ हजार कर्मचारीलाई JANBI, CANBI, Moody’s लगायतको सर्टिफिकेसन कोर्सको बैंकिङ तालिम प्रदान गर्नेछ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नका लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिइरहेको बताए। उनले तालिमले तालिम लिने व्यक्ति र संस्था दुवैको कार्यदक्षता वृद्धि भई जोखिम न्यूनीकरण हुने पनि बताए ।
एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको उल्लेख गर्दै तालिमले संस्थाको उत्पादकत्वमा वृद्धि हुने बताए ।
बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २८४ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ।











