राष्ट्र बैंकको आफ्नै सुर, सारा समस्या थन्काएर कर्मचारीकै स्याहार, २३ प्रतिशत तलब बढाउन प्रस्ताव

काठमाडौं । अर्थतन्त्र थला पर्न थालेका बेला राष्ट्र बैंक आफ्नै स्वार्थसिद्ध गतिविधिमा लागेको छ । उसले सारा समस्या थन्काएर आफ्नै कर्मचारीको स्याहार सुसार सुरु गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएर बसेको छ । बैंकको व्याजदर बढेको छ । दशैँ तिहारजस्ता महान चाडको मुखैमा व्यापार सुस्ताएको छ । तहसनहस भएको पूँजीबजार तंग्रिन मुस्किल भएको छ ।
राष्ट्र बैंकले ऋणमाथि लगाएको १२ करोडको सीमा हटाउला भनेर पर्खेर बसिरहेका लगानीकर्ता निराश छन्। यही अवस्थाले दशैँ खल्लो हुने पिरलो परेको छ, सबैलाई ।
यो अवस्थामा सबैले राष्ट्र बैंकतिर हेरिरहँदा नेपाल राष्ट्र बैंक भने आफ्ना कर्मचारीको तलब सुविधा बढाउनु पर्ने प्रस्ताव लिएर सञ्चालक समिति पुगेको छ । उसले आफ्ना कर्मचारीको तलब २३ प्रतिशत बढाउने प्रस्ताव सञ्चालक समितिमा दर्ज गरेको छ ।
बुधबार मात्रै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर वर्तमान समस्याबारे छलफल गरेको राष्ट्र बैंक भोलि पल्ट आफ्ना कर्मचारीको सेवा सुविधाको प्रस्तावतिर लागेको हो ।











