कोरोना बीमाको दावी भुक्तानी साढे चार अर्ब नाघ्यो, अझै हजारौंले दावी भुक्तानी पाउन बाँकी

२४ फाल्गुन २०७७, सोमबार ११:५४

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी साढे चार अर्ब नाघेका छ । यद्यपि अझै हजारौं मानिसहरुले कोरोना बीमाको दावी भुक्तानी पाउन बाँकी रहेको गुनासो गरिरहेका छन् ।

कोरोना बीमा पुलबाट प्राप्त भई बीमा समितिले प्रमाणित गरी सार्वजनिक गरेको विवरण अनुसार हालसम्म चार अर्ब ६६ करोड ३० लाख रुपैयाँ बीमितले पाईसकेका छन् । तथ्याङ्क अनुसार हालसम्म ४८ हजार ६९ जना बीमितले कोरोना बीमा दावी भुक्तानी रकम बुझेका छन् । तथ्याङ्क अनुसार कूल ८४ हजार ८७४ जनाको फाईल बीमा पुलमा दावी भुक्तानीको लागि पुगेको छ । सो अनुसार अझै ३६ हजार ८०५ जनाले कोरोना बीमाको दावी भुक्तानी पाउन बाँकी छ ।

बीमा समितिका अनुसार १० हजार ९४६ जनाको कागजात स्वास्थ्य सेवा विभागमा प्रमाणिकरणको क्रममा अल्झिएका छन् । सो मध्ये कैयौं नक्कली भएको समेत स्रोतले जनाएको छ । बीमा पुलले हालसम्म तीन हजार ६३९ जनाको फाईल कागजात नपुगेको भन्दै सम्बन्धित कम्पनीमै फिर्ता पठाएको छ । त्यस्तै ४८२ जनाले दोहोरो दावी भुक्तानी मागेका कारण नपाउने गरी निर्णय गरिएको बीमा समितिले जनाएको छ ।

कोरोना बीमा गत वर्षको बैशाख ७ गतेबाट बीमा समितिकै पहलमा सबै कम्पनीहरुले जोखिम बहन गर्ने गरी पुलमार्फत सुरु गरिएको बीमा योजना हो । कोरोना बीमामा पुनर्बीमा कम्पनी, सबै बीमा कम्पनीहरु, बीमा समिति तथा नेपाल सरकारले दायित्व बहन गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*