नेपाल पुनर्बीमा कम्पनीको लगानी १७ अर्बभन्दा बढि, कुन क्षेत्रमा कति ?

१ चैत्र २०७७, आईतवार २३:३१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपालभित्रका लगानीका विभिन्न क्षेत्रमा कूल १७ अर्ब भन्दा बढी रकम लगानी गरेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको छ महिनामा कूल १७ अर्ब १९ करोड ५३ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका अतिरिक्त अन्य सुरक्षित क्षेत्रमा लगानी गरेको छ । कूल १० अर्ब रुपैयाँ चुक्ता पुँजि भएको सो कम्पनीले शेयर तथा बीमा कोषमा रहेको रकम लगानी गरेको हो ।

बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप, नेपाल सरकारको वचतपत्र तथा ऋणपत्र, नेपाल इन्फास्टक्चर बैंकको मुद्दती निक्षेप, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, म्युचअल फण्ड र नागरिक स्टक डिलरमा संस्थापक शेयर लगानी र अन्य सुरक्षित क्षेत्रहरुमा समेत लगानी हो ।

पुनर्बीमा कम्पनीहरुले चालु आवको पुस मसान्तसम्म वाणिज्य बैंक र विकास बैंकको मुद्दति निक्षेपलाई नै आफ्नो लगानीको प्रमुख क्षेत्र बनाएका छन् । तर, सरकारले नै प्राथमिकता प्राप्त क्षेत्र भनेर वर्गीकरण गरेको कृषि तथा पूर्वधारको क्षेत्रमा नगन्य लगानी कम्पनीहरुले सो अवधिमा गरेका छन् ।

पुनर्बीमा कम्पनीले घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, वाणिज्य बैंक र विकास बैंकको मुद्दति निक्षेपमा २० प्रतिशत, वित्त कम्पनीको मुद्दतिमा १० प्रतिशत र राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तको साधारण सेयरमा कुल टेक्निकल रिजर्भको २० प्रतिशत लागनी गर्न पाँउछन् । पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझी नियमनकारी निकायले तोकेको फ्रेमवर्कभित्र बसेर लगानी गरिएको जानकारी दिए ।

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार पुनर्बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा १४ अर्ब ३१ करोड रुपैयाँ रकम लगानी गरेको छ । २ अर्ब ८८ करोड रुपैयाँ मात्र अन्य क्षेत्रमा लगानी गरेका छन् । मुद्दति निक्षेप मध्ये बाणिज्य बैंकहरुमा १३ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ । ख वर्गको बैंकको मुद्धती निक्षेपमा १ अर्ब २३ करोड रुपैयाँ राखेको छ । तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रमा एक अर्ब ३५ करोड रुपैयाँ, नागरिक स्टक डिलरमा ५० करोड रुपैयाँ, निफ्राको शेयरमा ४९ करोड ४२ लाख रुपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ३० करोड रुपैयाँ, नागरिक लगानी कोषको संस्थापक शेयरमा नौ करोड ३८ लाख रुपैयाँ, सिटिजन बैंकको शेयरमा आठ करोड ४४ लाख रुपैयाँ, तारागाँउ रिजेन्सीको शेयरमा एक करोड १५ लाख रुपैयाँ, एनआईबीएलको शेयरमा एक करोड २ लाख रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, आरएमडिसी लघुवित्तमा ८४ लाख ३७ हजार रुपैयाँ, केयर रेटिङ (नेपाल)मा २५ लाख रुपैयाँ, इन्स्योरेन्स इन्टिच्यूट नेपालको हकप्रद शेयरमा नौ लाख ९५ हजार रुपैयाँ र बीमा प्रवद्र्धन समितिमा दुई लाख रुपैयाँ लगानी गरेका छन् ।

विश्वका तीन दर्जनभन्दा बढि देशमा व्यापार सञ्जाल विस्तार गरेको नेपाल पुनर्बीमा कम्पनी नेपालको एकमात्र अन्तर्राष्ट्रिय व्यवसाय गर्ने सेवामूलक कम्पनी हो । नेपाल सरकारको समेत स्वामित्व भएको कम्पनीको चुक्ता पुँजि १० अर्ब रुपैयाँ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*