बीमा समितिद्वारा लघुबीमाका समस्या पत्ता लगाउन चार सदस्यीय कार्यदल गठन

११ असार २०७८, शुक्रबार १६:४४

काठमाडौं । बीमा समितिले नेपालमा लघु बीमाको अवस्था र समस्या पहिचान गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । तीन दिन पहिले गठन गरेको कार्यदलले लघुबीमाको विद्यमान अवस्थालाई सुधार गरेर बजेटमा तोकिएको ३३ प्रतिशत बीमा पहुँचको लक्ष्य भेट्टाउन सुझाव प्रस्तुत गर्नुपर्ने कार्यदल सम्बद्ध स्रोतले जनाएको छ ।

बीमा समितिका अध्यक्ष सूर्य सिलवालले समितिका निर्देशक सुशिलदेव सुवेदीको संयोजकत्वमा समितिकै उप निर्देशक पुनम ज्ञवाली श्रेष्ठ, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल सदस्य रहेको कार्यदल गठन गरेको हो ।

सो कार्यदललाई लघु बीमा क्षेत्रको समस्या पत्ता लगाई समाधानको उपायसहितको सुझाव प्रतिवेदन २० दिनभित्र बुझाउने जिम्मेवारी तोकिएको छ । बीमा समिति स्रोतले यस अध्ययनको उद्देश्य समस्या पत्ता लगाउने मात्रै भएको दावी गरेको छ ।

नयाँ लघुबीमा कम्पनी दर्ता हुने हल्लाका बीच गठन भएको कार्यदलले नयाँ कम्पनी दर्ता गर्ने सम्बन्धमा कुनै सुझाव पेश नगर्ने समितिका एक सदस्यले बीमा पोष्टलाई जानकारी दिए । स्रोतले भन्यो, ‘नयाँ कम्पनी दर्ता गर्नेबारेमा अध्ययन गर्ने टिओआर तोकिएको छैन, यो सम्भाव्यता अध्ययन होइन, केवल समस्याको पहिचान गर्ने मात्रै हो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*