नयाँ लघुबीमा कम्पनीको लाइसेन्स खुलाउँदै बीमा समिति, एक महिनाभित्रैमा सूचना आउने

१३ असार २०७८, आईतवार १२:४२

काठमाडौं । बीमा समितिले नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया सुरुवात गरेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँगको समन्वयमा नयाँ लघुबीमा कम्पनीको लाइसेन्स खुल्ला गर्ने प्रक्रिया अघि बढाएका हुन् ।

बीमा समितिले आगामी एक महिनाभित्रैमा नयाँ लघुबीमा कम्पनीको लाइसेन्सको लागि सार्वजनिक सूचना प्रकाशन गर्ने गरी तयारी भएको बीमा समितिले अघि बढाएको प्रक्रियाबाट खुलेको छ । बीमा समितिले यही असार ४ गते गठन गरेको लघुबीमा कार्यदललाई २० दिनभित्रैमा लघुबीमा कम्पनीको आवश्यकता र लघुबीमा दर्ता गर्दा अपनाउनु पर्ने विधिको प्रक्रियाको सम्बन्धमा प्रतिवेदन बुझाउन कार्यदेश दिइएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले गठन गरेको उक्त कार्यदलले काम सुरु गरिसकेको छ । उक्त कार्यदलले प्रतिवेदन बुझाएको एक साताभित्रैमा सार्वजनिक सूचना प्रकाशन गरेर नयाँ लघुबीमा कम्पनीको लागि प्रस्ताव आह्वान हुनेछ ।

हाल सेटिङको क्रममा रहेको लघुबीमा कम्पनी कति वटा र कसरी दर्ता गर्ने भन्ने सम्बन्धमा बीमा समितिभन्दा बाहिर छलफल चलिरहेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमालयन रि नामक कम्पनीलाई लेनदेन गरेर पुनर्बीमाको लाइसेन्स दिएकै शैलीमा लघुबीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गर्नेबारे छलफल चलिरहेको स्रोतले बीमापोष्टलाई जानकारी दिएको छ । नयाँ लघुबीमा कम्पनी दर्ता भएमा हाल सञ्चालनमा रहेका निर्जिवन र जीवन बीमा दुवैको आम्दानी घट्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*