आजदेखि आईआरएमआईएस सफ्टवयर लागू हुँदै, बीमा समिति बीमा कम्पनीहरु एउटै सफ्टवयरमा जोडिने

१ श्रावण २०७८, शुक्रबार ०८:३६

काठमाडौं । बीमा समितिले अनलाईनमा आधारित बीमा नियमाकीय व्यवस्थापन सूचना प्रणाली (आईआरएमआईएस) आजदेखि लागू गर्ने भएको छ । आज विहान ११ बजे औपचारिक रुपमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ सफ्टवयरको उद्घाटन गर्ने कार्यक्रम तय भएको बीमा समिति स्रोतले जनाएको छ ।

२०७६ साल फागुनमा अघि बढाइएको उक्त परियोजना अन्तर्गत अत्याधुनिक सफ्टवयर तयार भएपछि आजदेखि बीमा समिति र बीमा कम्पनीहरु एउटै सञ्जालमा जोडिन लागेका हुन् ।

अनलाईनमा आधारित सो प्रणाली सञ्चालनमा आएपछि बीमा समिति कम्पनीहरुमा पुगेर फाइल माग्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । बीमा कम्पनीहरुले अनलाईनबाटै विवरणहरु समिति समक्ष पुर्याउनेछन् भने बीमा समितिले पनि गलत गर्ने कम्पनीमाथि गैर–स्थलगत कारवाही गर्न सम्भव हुने नयाँ सफ्टवयर आजदेखि लागू गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय स्तरको सफ्टवयरमार्फत बीमा कम्पनीहरुलाई नियमन गर्ने उद्देश्यले अघि बढाइएको परियोजना अन्तर्गत बीमा समितिमा आफ्नै सर्भर राखेर काम गर्नेछ । बीमा समिति र बीमा कम्पनीहरुका बीचमा प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उक्त अनलाईन प्रणालीमार्फत बीमा कम्पनीहरुमा इन्स्पेक्सन गर्न सकिने गरी व्यवस्थापन गरिएका कारण बीमा नियमन थप प्रभावकारी हुने विश्वास लिइएको छ ।

बीमा नियामकीय व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा आएपछि सबै बीमा कम्पनीहरु सोही सफ्टवयरको माध्यमबाट बीमा समितिसँग प्रत्यक्ष जोडिनेछन् । साथै उनीहरुको सुक्ष्म नियमन समेत सम्भव हुनेछ । आईआरएमआईएसमा समितिले नीतिगत, कानुनी संरचना परिवर्तन भएमा सोही बमोजिम नियमन गर्न मिल्ने गरी अत्याधुनिक सफ्टवयर तयार पारिएको छ । नयाँ सफ्टवयर जडान पश्चात बीमा कम्पनीहरु प्रत्येक मिनेट बीमा समितिका नियमनमा हुनेछन् ।

हरेक बीमा कम्पनीहरुलाई एक एक वटा युजर आईडी दिएर उक्त सिष्टममा आबद्ध गरिनेछ । सोही आईडीमार्फत बीमा कम्पनीहरुले वित्तीय विवरण सफ्टवयरमा प्रविष्ट गरेपछि बीमा समितिमा पुग्नेछ । नयाँ सफ्टवयर जडानपछि रियलटाईम तथ्याङ्कको आधारमा बीमा समितिले प्रत्यक्ष निगरानी गर्न पाउनेछन् । कम्पनीहरुलाई दिएको आईडीबाट आफ्नो–आफ्नो विवरण प्रविष्ट गर्न पाउनेछन् भने बीमा समितिले सबै कम्पनीहरुको विवरण हेरेर सोही बमोजिम योजना बनाउन सहज हुनेछ ।
गत आर्थिक वर्षबाटै सुरु गर्ने लक्ष्य राखिएको परियोनजा कोरोना भाइरसका कारण ढिलाई भएको थियो । दर्शनटेक प्रा.लि नामक कम्पनीले नयाँ सफ्टवयर तयार पारेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*