सबै बीमा कम्पनीहरुमा भदौं १ गतेदेखि गो–एएमएल अनिवार्य

१५ श्रावण २०७८, शुक्रबार १५:३९

काठमाडौँ । कालो धन तथा आतंकवादी क्रियाकलापको धन शुद्धिकरणमा प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सफ्टवयर गो–एमएल आगामी भदौं १ गतेबाट बीमा कम्पनीहरुले अनिवार्य रुपमा लागू गर्नुपर्ने भएको छ । बीमा समितिले सबै कम्पनीहरुलाई आगामी भदौं १ गतेबाट सम्पत्ति शुद्धिकरणका लागि गो–एएमएल लागू गर्न अनिवार्य गरिसकेको छ ।

सम्पत्ति शुद्धिकरण तथा आतंकवाद विरुद्धको गो–एएमएल सफ्टवेयर बीमा कम्पनीहरुले प्रयोग ल्याउन आवश्यक तयारी गरिरहेका छन् । उक्त सफ्टवेयर बीमा समितिको नेतृत्वमा साउनभित्रै प्रयोगमा आउने भएको हो । बीमा समितिले सम्पत्ति शुद्धिकरणमा कडाई गर्दै कुनै पनि हालतमा म्याद थप नहुने भएकोले आवश्यक तयारीका साथ काममा जुट्न समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
बीमा समितिले गो–एएमएल सफ्टवेयरमार्फत सम्पत्ति शुद्धिकरण गर्नको लागि गत आर्थिक बर्ष देखि नै लागि परेको थियो । कोरोना महामारी लगायतका कारणले ढिलाई भएपनि चालु आर्थिक बर्षको सुरुमै गो–एएमएल लागू गर्न लागिएको हो ।

बीमा समितिले सो सफ्टवेयर यसअघि पनि प्रयोगमा ल्याउन खोजेको तर कोरोना महामारीका कारणले केहि समस्या देखा परेकोले त्यो बेला सम्भव नभएकोमा अब आवश्यक तयारी साथ काम अघि बढेको जनाएको छ । हाल पाँच ओटा जीवन बीमा कम्पनीमा गो–एएमएल सफ्टवयर परिक्षणमा रहेको छ ।

बीमा समितिले २०७५ मै सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका लागू गरिसकेको छ । विश्व बैंकले बनाएको उक्त सफ्टवेयर नेपालमा नेपाल राष्ट्र बैंक मार्फत सबै बैंकहरुमा प्रयोगमा आइरहेको छ । सो सफ्टवेयर प्रयोगपछि बीमा कम्पनीमा पनि स्रोत नखुलेका सम्पत्तिको रिपोर्ट सिधैं नियामक निकायसम्म पुग्न सहज हुनेछ । त्यसको लागि बीमा कम्पनीका कर्मचारीहरुले सकारात्मक भूमिका आवश्यक पर्नेछ ।

गो–एएमएल सफ्टवयर प्रयोग सम्बन्धमा बीमा समितिले यही साउनको दोस्रो साता बीमा कम्पनीहरुलाई आवश्यक तालिम दिइसकेको छ ।

भदौं १ गतेबाट नेपालमा सञ्चालित दुई पुनर्बीमा, २० निर्जिवन तथा १९ वटा जीवन बीमा कम्पनीमा गो–एएमएल सफ्टवयर प्रयोगमा आउने र सम्पत्ति शुद्धिकरण थप पारदर्शी हुने बीमा समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*