निर्जिवन बीमा कम्पनीहरुलाई बीमा समितिको निर्देशन, उधारो बीमा पोलिसी जारी गर्न नपाइने

२० असार २०७८, आईतवार १९:३३

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले उधारोमा बीमा पोलिसी जारी गरी रकम भुक्तानी नभई दावी भुक्तानी माग्ने प्रवृत्ति बढ्न थालेपछि बीमा समितिले आज एक सर्कुलर मार्फत उधारो बीमा पोलिसी जारी गर्ने कार्य बन्द गर्न सबै कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै कम्पनीहरुलाई पठाएको पत्रमा बीमा कम्पनीले रकम प्राप्त भएको सुनिश्चित नभई बीमा पोलिसी जारी नगर्न परिपत्र गरेको हो । कार्यकारी निर्देशक पौडेलले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरूलाई लिखित पत्रमार्फत बीमा ऐनले बर्जित गरेका उधारो बीमा गर्ने कार्य नगर्न चेतावनी दिएका छन् । पौडेलले लेखेको पत्रमा भनिएको छ, बीमा ऐन २०४९ मा बीमा शुल्क प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्न नमिल्ने उल्लेख छ र बीमकले जोखिम ग्रहण गरेवापत बीमा शूल्क प्राप्त गरेपछि मात्र बीमा गरेको मानिने यहाँहरूलाई जानकारी नै होला ।’

प्रमुख कार्यकारी अधिकृत पौडेलले बीमा कम्पनीहरुले उधारो बीमा गर्ने गरेको सम्बन्धीमा बीमा समितिमा उजुरी परेको तथा जनगुनासोको आधारमा बीमक कम्पनीका कार्यकारी प्रमुखहरुलाई उधारो बीमा गर्ने गराउने कार्य रोक्न चनोखो रहन निर्देशन दिइएको छ ।

कार्यकारी निर्देशक पौडेलले लेखेको पत्रमा बीमा ऐन २०४९ को दफा २७ मा कुनै पनि बीमकले कुनै पनि किसिमका बीमा व्यवसाय गर्दा बीमा बापतको शुल्क प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्न नहुने व्यवस्था रहेको स्मरण गराउँदै बैंकमार्फत भुक्तानी हुने बीमा पोलिसीको हकमा बैंक खातामा रकम जम्मा भइसकेको सुनिश्चित भएपछि मात्रै बीमा पोलिसी जारी गर्न निर्देशन दिएका छन् । बीमा समितिले उधारो बीमा गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने चेतावनी समेत दिएको छ ।

 

बीमा समितिले जारी गरेको निर्देशनमा जीवन र निर्जिवन दुवै बीमा कम्पनीहरुलाई भएपनि मुख्य रुपमा आज जारी निर्देशन निर्जिवन बीमा कम्पनीहरुको लागि भएको स्रोतले जनाएको छ । नेपालको बीमा व्यवसायमा जीवन बीमा क्षेत्रमा कमै मात्र उधारो बीमा हुने गर्दछ । निर्जिवन बीमा क्षेत्रमा मौलाउँदै गएको उधारो बीमा पोलिसी जारी गर्ने कार्य रोक्न बीमा समितिले यस्तो निर्देशन दिएको हो । साथै बीमा समितिमा निर्जिवन बीमा कम्पनीहरुले उधारो बीमा पोलिसी जारी गर्ने गरेको भन्दै गुनासो पुगेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*