एक लाख ३७ हजार ७५४ कोरोना बीमितद्वारा १३ अर्ब १४ करोड बीमा दावी

नौ अर्ब ६२ करोड छ लाख तीन हजार ९८४ रुपैयाँ अपुग, बीमा पुलको खाता शून्य हुँदा रोकियो भुक्तानी
१८ श्रावण २०७८, सोमबार १२:२४

काठमाडौं । बीमा समितिले गत वर्षको बैशाख ७ गतेबाट सुरु गरेको कोरोना बीमामाथि १३ अर्ब भन्दा बढि दावी परेको छ । कूल १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा एक लाख १७ हजार ७५४ जना कोरोना संक्रमित भई बीमा दावी गर्दै कागजात बुझाएका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार असार मसान्तमा सकिएको कोरोना बीमा पोलिसीको समेत कूल १३ अर्ब १४ करोड १७ लाख ३१ हजार ६०० रुपैयाँ बीमा दावी परेको छ । जम्मा एक अर्ब पाँच करोड पाँच लाख २७ हजार ६७६ रुपैयाँ बीमा शुल्क उठेको कोरोना बीमाको साढे तीन अर्ब रुपैयाँ दावी भुक्तानी गरिएको भएपनि अझै नौ अर्ब ६२ करोड छ लाख तीन हजार ९८४ रुपैयाँ दावी भुक्तानी हुन बाँकी छ ।

सो रकम कसले व्यहोर्ने भन्ने तनाव बीमा क्षेत्रमा व्याप्त छ । बीमा समिति र बीमा कम्पनीहरुले सो रकम कोरोना बीमा मापदण्ड अनुसार नेपाल सरकारले व्यहार्ने भन्दै आएपनि बजेटमा कही कतै उल्लेख नभएको र कोरोना बीमा मापदण्ड स्वीकृत गर्न दिएकै भरमा नेपाल सरकारले व्यहार्ने सम्भावना नरहेको अर्थमन्त्रालय प्रष्ट पार्दै आएको छ ।

विवादका बीचमा सर्वसाधारणले रकम पाउन नसक्दा बीमा कम्पनीका विरुद्धमा आक्रोस बढिरहेको छ । कोरोना रोग लागेमा पौष्टिक आहार खाने खर्च तथा रोजगारीमा गुमेमा राहत पाइने भन्दै सुरुमा अण्डर राईटिङ समेत नभएको बीमा पोलिसी भन्दै प्रतिव्यक्ति ६०० र एक हजार रुपैयाँले बिक्री गरिएको थियो । महामारीको मौका छोपेर १७ नागरिकका बीचमा पुगेर रकम संकलन गरी बीमा शुल्क लिई सकेपछि भुक्तानी गर्ने समयमा विवाद उत्पन्न भएको हो ।

कोरोना बीमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको साढे तीन अर्ब रुपैयाँ कोरोना बीमितलाई वितरण गरेर सकिएको छ । उल्लेखित बाहेक बाँकी रहेकाहरुको रकम अभावमा भुक्तानी रोकिएको हो । कोरोना बीमा पुलमार्फत सञ्चालित कोरोना बीमाको छुट्टै लेखा परिक्षण गर्ने भन्ने व्यवस्था छ । हाल कोरोना बीमा पुलमा मौज्दात शून्य रहेकोले दावी भुक्तानी स्थगित गर्ने बीमा कम्पनीहरुले सामूहिक निर्णय गरिसकेका छन् ।

One thought on “एक लाख ३७ हजार ७५४ कोरोना बीमितद्वारा १३ अर्ब १४ करोड बीमा दावी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*