गरुडाका किसानले सोधे ‘कृषि र माछा बीमा गर्न कठिन किन हुन्छ ?’ सर्भेयरले घुस मागेको गुनासो

२२ श्रावण २०७८, शुक्रबार २०:१८

रौतहट । बीमा समितिको आयोजनामा आज रौतहट जिल्लाको गरुडा नगरपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा किसानहरुले कृषि तथा माछा बीमा गराउन समस्या परेको गुनासो गरेका छन् । कार्यक्रममा किसानहरुले ड्यासमा बसेका बीमा समितिका निर्देशक सहितका अतिथिहरुलाई सोधे, ‘कृषि बीमा गर्ने बारेमा सोध्न किन कोही आउदैनन्, जीवन बीमा गर्नु पर्यो भन्दै धेरै आउँछन् माछा बीमा गर्छु भन्दा पाइदैन किन ?’

बीमा समितिले स्थानीय निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने क्रममा आज प्रदेश नं २ को रौतहटस्थित गरुडा नगरपालिकामा पुगेर कार्यक्रम गरेको थियो । बीमा समितिका निर्देशक दिनेशलाल कर्णको सभापतित्वमा गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा किसानहरुले कृषि बीमा गर्न कठिन भएको गुनासो गरेका छन् ।

सो कार्यक्रममा उद्योगी व्यवसायीहरुले बीमा सर्भेयरको समस्या बढिरहेको र बीमा सर्भेयरले घुस मागेको गुनासो समेत गरेका छन् । सो अन्तरक्रिया कार्यक्रममा गरुडा नगर उद्योग बाणिज्य संघ काअध्यक्ष हरेन्द्र प्रसाद चौधरीले सर्भेयरमा त्रुटी रहेको गुनासो गर्दै बीमा समितिले कडा नियमन गर्न माग गरे ।

त्यस्तै, गरुडा नगरपालिका वडा नं ५ का वडा अध्यक्षले बीमा अभिकर्तामा जनचेतना तथा उचित शिक्षा आवश्यक भएको भन्दै बीमा समितिको ध्यानार्षण गराएका छन् । बीमा अभिकर्ताले झगडा गरेकोले प्रहरी लगाउनु परेको गुनासो गर्दै वडा अध्यक्षले अभिकर्ता शिक्षामा बीमा समितिको ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा बीमा समितिका निर्देशक तथा कार्यक्रमका सभापति दिनेशलाल कर्णले बीमा दावी भुक्तानी सरल बनाउने प्रतिबद्धता जनाए । उनले किसानले सहज रुपमा कृषि बीमा गर्न पाउने बताउँदै बीमा कम्पनीहरु सचेत हुन निर्देशन समेत दिए । साथै उनले किसानहरुले सहज रुपमा कृषि तथा माछा बीमा गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा कोरोना बीमाको दावी भुक्तानी पाउन कठिन भएको विषय उठेपछि कोरोनाको रकम जसरी पनि भुक्तानी गराउने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा गरुडा नगरपालिकाकी उपमेयर रंगिला कुमारी जैसवाल, वडा अध्यक्षहरु, नगरपालिकाका कर्मचारीहरु, किसान, बीमा अभिकर्ता तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीहरुले बीमा समितिले जनचेतना बृद्धि गर्दै गाउँ गाउँमा पुग्नको लागि पाइपलाइन बिछ्याउनु पर्ने र सोही मार्गचित्रमा सिंगो बीमा व्यवसाय अघि बढ्ने सुझाव बीमा समितिलाई प्रस्तुत गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*