राजविराज नगरपालिकामा बीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयर यादवको प्रतिबद्धता

२ आश्विन २०७८, शनिबार १३:२८

काठमाडौं । बीमा समितिले आज शनिबार राजविराज नगरपालिकाको स्थानीय निकायसँग बीमा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिका निर्देशक दिनेशलाल कर्णको नेतृत्वमा रहेको टोलीले राजविराज नगरपालिकाका स्थानीयबासी तथा जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

बीमा समितिद्वारा आयोजित बीमा जनचेतना सम्बन्धी कार्यक्रममा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले बीमा नीति पास गरेर नगरलाई बीमामार्फत सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा प्रमुख अतिथि रहेको मेयर यादवले बीमाले आम मानिसको दैनिकी सहज बनाउने हुँदा बीमा समिति र बीमा कम्पनीहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

कार्यक्रममा उपमेयर साधना झाले बीमाले अल्पसंख्यक, महिला र समाजमा पछाडि पारिएका समुदायलाई समेटेर अघि बढ्ने हुँदा निकै महत्वपूर्ण भएको बताईन् । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी प्रदेश नं २ का प्रमुख अर्जुन पौडेल, एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तको उपस्थितिमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा २०० भन्दा बढि स्थानीयबासीको सहभागिता रहेको थियो ।

राजविराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाको उपस्थितिमा सम्पन्न कार्यक्रममा बीमा समितिका सहायक निर्देशक हृदयश्वर पण्डितले स्वागत मन्तव्य व्यक्त गरेका थिए अर्का सहायक निर्देशक पूर्ण बहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

पत्रकार महासंघ सप्तरी अध्यक्ष समेतको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्थानीयबासी तथा जनप्रतिनिधिहरुले बीमा दावी भुक्तानी, कृषि बीमा लगायतका समस्याहरुबारे छलफल गरेका थिए । कार्यक्रमका सभापति तथा बीमा समितिका निर्देशक दिनेशलाल कर्णले बीमाको महत्वबारे प्रष्ट पार्दै बीमा समितिले बीमित र बीमा कम्पनीहरुका बीचमा पुलको काम गर्ने प्रष्ट पार्दै आम सर्वसाधारणलाई बीमा गरेर आफ्नो जीऊधन तथा सम्पत्तिको रक्षावरण गर्न आह्वान गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*