बैदेशिक रोजगारीमा जाने घरपरिवारको स्वास्थ्य बीमा अनिवार्य, स्वास्थ्य बीमा बोर्डमा कार्यविधि बन्दै

२० आश्विन २०७८, बुधबार १४:४८

काठमाडौं । वैदेशिक रोजगारमा जानु अघि परिवारको स्वास्थ्य बीमा अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था लागु हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले यस सम्बन्धी कार्यविधि तयार पारिसकेको जनाएको छ । ‘वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि परिवारको स्वास्थ्य बीमा सम्बन्धी कार्यविधि–२०७८’ तयार भएर कार्यान्वयनको चरणमा रहेको बोर्डका सूचना अधिकारी सोभित रिजालले जानकारी दिए ।

‘वैदेशिक रोजगारमा जाने व्यक्तिले आफ्नो परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्नैपर्ने गरी कार्यविधि बनिसकेको छ । ऐनमा पनि यसको व्यवस्था छ,’ रिजालले भने, ‘अब यसको कार्यान्वयन दसैं लगत्तै गर्ने तयारी भइरहेको छ ।’

कार्यविधि अनुसार यो व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगार विभागसँग सहकार्य गर्ने भएको छ । यो व्यवस्था लागु भएसँगै परिवारको स्वास्थ्य बीमा गरिसकेपछि मात्रै कुनै पनि व्यक्तिले वैदेशिक रोजगारीको लागि स्वीकृति पाउँछ । ‘विभागमा बोर्डबाट एक जना कर्मचारी खटिनेछन् र श्रम स्वीकृति लिने स्थलमै स्वास्थ्य बीमा गर्न सकिने गरी व्यवस्था मिलाउँछौं,’ रिजालले भने ।

वैदेशिक रोजगारमा जान चाहने व्यक्तिको परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गरेसँगै स्वास्थ्यमा उनीहरुको सहज पहुँच हुने बोर्डले विश्वास लिएको छ । ‘वैदेशिक रोजगारमा जाने व्यक्ति र उनीहरुको परिवारको स्वास्थ्य सुविधालाई ध्यानमा राख्दै यो व्यवस्था लागु गर्न लागिएको हो,’ रिजालले भने ।

बैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य बीमा अनिवार्य गरिएपछि स्वास्थ्य बीमाको दायरा अझै बृद्धि हुनेछ भने विदेशमा पुगेका नेपाली युवाहरुको घर परिवारको स्वास्थ्य उपचारको जिम्मेवारी बोर्डमार्फत राज्यको काँधमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*