बीमा समिति समक्ष लमजुङको क्व्होलसोथार गाउँपालिकाका जनप्रतिनिधिको गुनासो, समयमा दावी भुक्तानी पाइएन, कृषि बीमा कठिन

४ मंसिर २०७८, शनिबार ०७:५५

काठमाडौं । स्थानीय तहसँग बीमा समिति नामक राष्ट्रिय अभियान लिएर लम्जुङको क्व्होलसोथार गाउँपालिका पुगेको बीमा समिति समक्ष स्थानीय जनप्रतिनिधिहरुले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नदिएर सास्ती दिने गरेको तथा कृषि बीमा निकै कठिन भएको गुनासो गरेका  छन् ।

बीमा समितिले हिजो सो गाउँपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर घलेले भने, ‘विदेशमा गाडी बिग्रियो भने, बीमा कम्पनी आफैले मर्मत गरिदिन्छ, नेपालमा भने दर्जनौं प्रक्रिया झेलेर एक दुर्घटनाको दावी भुक्तानी लिन लडाई लड्नुपर्छ, यो अवस्थाको अन्त्य हुनुपर्यो । बीमा समितिले गर्नुपर्यो, कम्पनीहरुले गर्नुपर्यो, जनताले समयमा दावी भुक्तानी पाउनु पर्यो ।’

बीमा कम्पनीको कुनै पनि शाखा कार्यालय नभएको क्व्होल्सोथार गाउँपालिकाका अध्यक्ष घलेले बीमा समितिले सचेतना कार्यक्रम लिएर आएकोमा निकै खुशी व्यक्त गर्दै गाउँपालिकाको तर्र्फबाट बीमाको प्रचार र प्रबद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सो गाउँपालिकाका कार्यकारी अधिकृत त्रिलोकचन्द्र गुरुङले बीमा सचेतनाबाट स्थनीय जनतालाई समेत लाभ मिलेको, आम जनतामा बीमा गर्नुपर्दछ भन्ने ज्ञान बढेको बताए ।

क्व्होलसोथार गाउँपाकालिकाका वडा अध्यक्ष तथा स्थानीय किसानहरुले किसानलाई कृषि तथा पशुपंक्षी बीमामा निकै ठूला समस्याहरु रहेकोले त्यसको सहज रुपमा बीमा गर्नुपर्ने र दावी भुक्तानी पाउने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

बीमा समितिकी निर्देशक पुजन ढुंगेल अधिकारीको नेतृत्वमा उप निर्देशक निर्मल अधिकारी तथा सहायक निर्देशक पुष्पा कुँवसहितको टोलीले लम्जुङको उत्तरपूर्वी क्षेत्रमा रहेको सो गाउँपालिकामा पुगेर अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा निर्देशक अधिकारीले बीमाका फाइदा यसको उपयोगिता र महत्वबारे प्रकाश पारेकी थिईन् । स्थानीय जनप्रतिनिधि तथा ७० भन्दा बढि सर्वसाधारण उपस्थित कार्यक्रममा न्यून आय भएका किसान, गरिबीका रेखामुनी रहेका जनताको लागि लघु बीमा कार्यक्रम समेत सञ्चालन भइरहेकोबारे छलफल भएको थियो ।

बीमा समितिले भोलि तनहुको बन्दीपुरमा बीमा सचेतना सम्बन्धी कार्यक्रम आयोजना गर्दैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*