पुनर्बीमा सम्बन्धी निर्देशनमा बीमक संघका केही पदाधिकारीबाट आएका धारणाप्रति बीमा समितिको ध्यानाकर्षण

१३ मंसिर २०७८, सोमबार १६:५५

काठमाडौं । बीमा समितिले पुनर्बीमाका सम्बन्धमा हालै बीमा कम्पनीहरुलाई दिएको निर्देशनलाई लिएर विभिन्न संचार माध्यम र संचार माध्यममार्फत बीमक सङ्घका केही पदाधिकारीहरुबाट आएका धारणाप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ । समितिको निर्देशनलाई एकतर्फीरुपमा आफूखुशी मनगढन्तेरुपले व्याख्या गरी जनमानस र सिङ्गो बीमाक्षेत्रलाई नै दिग्भ्रमित पार्ने गरी व्यक्त भएका त्यस्ता धारणा र यथार्थहीन भ्रमपूर्ण जानकारीप्रति समिति खेद प्रकट गरेका छ ।

देशमा हाल पुनर्बीमा व्यवसायको एकाधिकार अन्त्य भई दुईवटा पुनर्बीमा कम्पनी संचालनमा रहेका कारण प्रतिस्पर्धीरुपमा पुनर्बीमा व्यवसाय गर्न सकिने अवस्था सिर्जना भएको र हाल मुलुकमा बैदेशिक मुद्राको संचिति घट्दै गएको तर पुनर्बीमा वापत ठूलो रकम विदेशिने गरेकाले बैदेशिक मुदा संचितिमा समेत योगदान पु¥याउनु पर्ने भएकाले यस्तो व्यवस्था गरिएको जानकारी गराएको छ।

बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ मा भएका व्यवस्था बमोजिम यस समितिले बीमकले आफूले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष हिस्साका सम्बन्धमा हालको व्यवस्था कायम राखी प्रत्यक्ष हिस्सास्वरुप प्रदान गरिएको पुनर्बीमा बाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमकहरुलाई प्रदान गर्ने व्यवस्था गरेको छ । साथै, कुनै स्वदेशी पुनर्बीमकले न्यून आर्थिक क्षमताका कारण पुनर्बीमा गर्न नसकेको खण्डमा त्यसरी नसकेको अङ्शको पुनर्बीमा ‘पुनर्बीमा निर्देशिका, २०७८’ मा भएको व्यवस्था बमोजिम योग्यता पुगेका विदेशी पुनर्बीमा कम्पनीसँग गर्न पाइने व्यवस्था समेत गरिएको सबैलाई विदितै छ ।

तसर्थ, स्वदेशी पुनर्बीमा कम्पनीहरुलाई उनीहरुको आर्थिक क्षमताले नधान्ने पुनर्बीमा व्यवसाय पनि जबरजस्ती उनीहरुलाई नै दिनुपर्ने भन्ने बाध्यात्मक व्यवस्था बीमा समितिको निर्देशनबाट सिर्जना भएको भन्ने विभिन्न संचार माध्यममार्फत व्यक्त धारणा कुत्सित मनसायका साथ आम जनमानसमा भ्रम सिर्जना गर्ने र बीमा एवम् पुनर्बीमा व्यवसायको विकासलाई अवरुद्ध गर्ने नियोजित उद्देश्यका साथ आएका हुन् ।

छिमेकी मुलुक भारत, बङ्गलादेश लगायतका विभिन्न देशमा समेत मुलुकको हित, बीमितको बीमा रकमको सुरक्षा र बीमाक्षेत्रको समग्र विकासका लागि ती देशका बीमा नियामक निकायहरुले प्रचलित ऐन नियम बमोजिम समयानुकूल व्यवस्था गर्ने गरेका हुन्छन् । नेपालमा पनि नेपालको बीमा नियमनकारी निकाय ‘बीमा समिति’ ले अन्तर्राष्ट्रिय प्रचलन, मुलुकको हित, बीमितको बीमा रकमको सुरक्षा र बीमा व्यवसायको विकास एवम् प्रवद्र्धनलाई समेत ध्यानमा राखी गरेको यस व्यवस्थालाई अन्यथा नलिई सहजरुपमा परिपालन गर्न गराउन सम्बन्धित सबैलाई बीमा समितिले आग्रह गरेको छ ।
साथै, बीमा तथा पुनर्बीमाका सम्बन्धमा कुनै गुनासा एवम् समस्या भएमा यस समितिलाई सिधै जानकारी गराउन सम्बन्धित सबैसँग आग्रह गर्दछौं । बीमाक्षेत्रमा देखिएका समस्याहरु बीमक, बीमित लगायत सरोकारवाला सबैसँगको छलफलबाट समाधान गर्न सकिनेमा यस समिति दृढ रहेको व्यवहोरा समेत सम्बन्धित सबैमा आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*