अध्यक्ष सिलवालद्वारा विरोध गर्ने बीमा कम्पनीमाथि कारवाही गर्ने धम्की

१४ मंसिर २०७८, मंगलवार १०:१६

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले निर्जिवन तथा जीवन बीमा कम्पनीका सिईओ र अध्यक्षहरुलाई बीमा समितिले यही मंसिर ९ गते जारी गरेको पुनर्बीमा निर्देशिकाको विरोधमा उत्रेमा कारवाही गर्ने धम्की दिएका छन् ।

गैर कानुनी तथा हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई अर्बौ रुपैयाँ फाइदा पुर्याउन कुत्सित उद्देश्य राखेर जारी गरेको पुनर्बीमा निर्देशनको विरोधमा नउत्रन मुख्य–मुख्य बीमा कम्पनीका सिइओ तथा अध्यक्षहरुलाई दवाव दिएका छन् । अध्यक्ष सिलवालले टेलिफोनमार्फत धम्की दिएका हुन् ।

एक जीवन बीमा कम्पनीका सिईओका अनुसार सिलवालले आफूले सबै बीमा कम्पनीहरुको तथ्याङ्क राखेर बसेको र विरोध गर्नेलाई कारवाही गरेर कामै गर्न नदिने र बीमा व्यवसाय नै धरासायी बनाउने धम्की दिएका हुन् ।

अध्यक्ष सिलवालकै कारण नेपाल बीमक संघ तथा नेपाल जीवन बीमक संघले बीमा समितिको अनैतिक र भ्रष्टाचारजन्य निर्णयको सम्बन्धमा औपचारिक पत्र समेत बुझाउन सकेको छैन । एक निर्जिवन बीमा कम्पनीका अध्यक्षले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बीमापोष्टसँग भने, ‘हामीलाई एकदमै तर्साइएको, कारवाही गर्छौ भनिएको अवस्था छ ।’ बीमा समितिकै धम्कीका कारण हिजो बसेको नेपाल बीमक संघको बैठकमा समेत कुनै निर्णय हुन सकेको छैन । नेपाल बीमक संघका पदाधिकारीहरुले फोन स्वीच अफ गरेर बस्नु परेको छ भने टेलिफोनमा सम्पर्कमा आएका पदाधिकारीहरुले समेत बैठक नै नबसेको भन्दै दावी गरेका छन् । तर, नेपाल बीमक संघको हिजोको बैठक सम्पन्न भएको बीमापोष्टले पुष्टि गरिसकेको छ ।

पूर्व सचिव समेत रहेका सूर्य सिलवाल बीमा समितिको अध्यक्ष बन्ने वित्तिकै यसअघिका अर्थमन्त्री विष्णु पौडेलसँग मिलेर थर्मल गनका तस्करी शुलभ अग्रवाल र उनको परिवारको ३२ प्रतिशत शेयर भएको हिमालयन रि इन्स्योरेन्स नामक कम्पनीलाई पुनर्बीमाको लाइसेन्स दिएका थिए । अध्यक्ष सिलवालले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई लाईसेन्स दिँदा तीन अर्बभन्दा बढि घुस लिएर अर्थमन्त्री पौडेल, बीमा समितिका सञ्चालक समितिका पदाधिकारीहरुलाई बाँडफाँड गरेका थिए ।

गैर कानुनी रुपमा हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई लाईसेन्स दिएको र सो लाइसेन्स काण्डमा सिलवालले अर्बौ रुपैयाँ घुस खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आधा दर्जन उजुरी परिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले समेत सो सम्बन्धमा छानविन सुरु गरेपनि हालसम्म मुद्दा प्रक्रिया अघि बढाउन भने ढिलाई गर्दै आएको छ । भुक्तभोगीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत सेटिङ भएको चर्चा गर्ने गर्दछन् । यसको स्वतन्त्र पुष्टि भइसकेको छैन ।

अर्बौ रुपैयाँ भ्रष्टाचारको आरोप लाग्दै आएको सन्दर्भमा बीमा समितिको वर्तमान नेतृत्वले बीमा समिति सञ्चालक समितिको बैठकमा उपस्थित पुस्तिकामा हस्ताक्षर गराई बैठकमा छलफल नै नभएको पुनर्बीमा व्यवसाय सम्बन्धी निर्णय गराएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*