कोरोना बीमाबारे २१ महिनापछि बोल्यो बीमक संघ, पुनर्बीमा निर्देशनबारे बोल्ने हिम्मत कहिले आउला ?

२५ पुष २०७८, आईतवार १३:२९

काठमाडौं । नियामक निकाय भनेर बीमा समितिका हरेक निर्णयहरुका अगाडि बीमक कम्पनीका सिईओहरु लुत्रुक्क परेका कारण कैयौं घातक निर्णयकहरु बीमा क्षेत्रमा अहिले पनि क्रियाशिल छन् । नियामक निकायले नीतिगत भ्रष्टाचार गरी केही सीमित माफियालाई फाइदा पुग्ने गरी काम गर्ने र स्टेक होल्डर मौन बस्ने प्रवृत्तिले बीमा क्षेत्रमा बढ्दो विकृति रोक्ने कार्य चुनौतिपूर्ण बनेको छ ।

नेपाल बीमक संघ राज्यको महत्वपूर्ण बीमा क्षेत्रको मुख्य स्टेक होल्डर हो । बीमा समितिले २०७७ बैशाख ७ गते जारी गरेको कोरोना बीमा पोलिसीका विरुद्धमा बीमक संघले पहिलो पटक विरोध जनाएको छ । नेपाल बीमक संघको २० औं बार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएपछि सार्वजनिक गरिएको १० बुँदे प्रतिबद्धता पत्रमा कोरोना बीमा पोलिसी बीमाको आधारभूत सिद्धान्त विपरित जारी गरिएको र त्यो अन्तर्राष्ट्रिय अभ्यास विपरित भएको भन्दै औपचारिक रुपमा विरोध गरिएको हो ।

तर, बीमक संघले विरोध जनाउँदासम्म कोरोना बीमाले नेपाली बीमा क्षेत्रमा करिब १६ अर्बको दायित्व सिर्जना गरेर त्यसको भार बीमक कम्पनीमाथि थोपरेको छ । बीमा समितिले जारी गरेको कोरोना बीमा पोलिसी बीमाको आधारभूत सिद्धान्तभन्दा विपरित थियो । त्यस्तो पोलिसी बीमा समितिले जारी गर्नै मिल्दैनथ्यो ।

तर, बीमा समितिले कोरोना जारी गर्ने वित्तिकै बीमा कम्पनीहरुले कोरोना बीमा पोलिसी बिक्री गर्न प्रतिस्पर्धा गरे । बीमाको सिद्धान्त विपरितको कोरोना बीमा पोलिसी जारी गर्नै मिल्दैन भनेर भन्नुपर्नेमा दैनिक यति लाख रुपैयाँको बीमा गर्यौ भन्दै कोरोना बीमा पोलिसी बिक्री गरेको वितरण सार्वजनिक गर्ने बीमक संघले कोरोना बीमामा करिब १६ अर्ब रुपैयाँ डुबिसकेपछि २१ महिना पछि औचापरिक रुपमा बोलेको छ ।

बीमा क्षेत्रको स्थायीत्व, विकास र सिंगो क्षेत्रलाई मर्यादित र व्यवसायिक बनाउने लक्ष्य सहित स्थापना भएको बीमक संघले कोरोना बीमा जस्तै बीमा समितिले मंसिर ९ गते जारी गरेको पुनर्बीमा निर्देशन सम्बन्धमा मुख खोलेको छैन । कोरोना बीमा जत्तिकै घातक खर्बौ रुपैयाँ बीमाको जोखिम केन्द्रिकरण गर्ने उक्त निर्णयको विरुद्धमा अझैसम्म पनि बीमक संघले मुख खोल्न सकेको छैन ।

कोरोना बीमा गरेको २१ महिनापछि मुख खोले झै पछि मात्रै बोल्ने प्रवृत्तिले बीमा क्षेत्रमा उत्पन्न समस्याहरुको उचित समयमा समाधान नहुने र समस्या आइसकेपछि नियामक निकाय र बीमक कम्पनीहरु अप्ठेरोमा पर्ने अवस्था आएपछि बोल्ने परिपाटीले बीमक संघप्रति समेत आम जनमानसमा प्रश्न चिन्ह उठेको छ ।

कोरोना बीमाको अर्बौ रुपैयाँ दावी भुक्तानी नपाएर सर्वसाधारणमा बीमाप्रतिको विश्वास गुम्छ भन्ने कुरा भविष्यको जोखिम विश्लेषण गरेर धारण गर्ने बीमक कम्पनीहरुको छाता संगठनलाई पहिले नै ज्ञान वा विश्लेषण किन भएन ? यो अहम् प्रश्न अहिले पनि आइरहेको छ । बीमा समितिले बीमाको सिद्धान्त विपरित सबै बीमा नेपालमै पुनर्बीमा गर्नुपर्ने भन्ने मंसिर ९ गतेको पुनर्बीमा निर्देशन सम्बन्धमा बीमक संघ आजसम्म किन केही बोलिरहेको छैन ? कतै कोरोना बीमा जस्तै असर परेको २१ महिना पछि मात्रै बोल्ने हो ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*