सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशमा शाखा विस्तार गर्दै बीमा समिति

१४ माघ २०७८, शुक्रबार १०:१०

काठमाडौं । बीमा समितिले संघीयतालाई कार्यान्वयन गर्दै सबै प्रदेशमा शाखाहरु खोल्ने प्रक्रिया सुरुवात गर्दैछ । समितिले पहिलो चरणमा सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधेश प्रदेशमा आफ्नो शाखा कार्यालय स्थापना गर्ने तयारी सुरु गरेको जनाएको छ ।

अर्थमन्त्रालयले संघीयता कार्यान्वयन गर्दै प्रदेशमा समेत शाखा कार्यालय स्थापना गरेर बीमाको पहुँच बृद्धिको लागि वातावरण बनाउन निर्देशन दिएसँगै शाखा कार्यालय स्थापनाको प्रक्रिया अघि बढाइएको हो ।

बीमा समितिको नयाँ शाखाहरु सुदुरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको राजधानी सुर्खेत र मधेश प्रदेशको राजधानी जनकपुरमा स्थापना हुनेछन् ।

बीमा समितिको सञ्चालक समितिले सो सम्बन्धी निर्णय गरिसकेको छ । यद्यपि चालु आर्थिक वर्षमा एउटा मात्रै प्रदेशमा खोल्ने कि एकै पटक तीन वटै प्रदेशमा शाखा खोल्ने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन ।

बीमा समितिमा थप आर्थिक भार पर्ने गरी निर्णय गर्नुअघि अर्थमन्त्रालयबाट समेत अनुमति लिनुपर्ने भएकोले नयाँ कार्यालय स्थापनाको लागि बीमा समितिबाट प्रक्रिया अघि बढेपनि कार्यान्वयनमा जान भने केही समय लाग्नेछ ।

नियामक निकाय बीमा समितिले जनताले सर्वसुलभ रुपमा बीमा सेवा प्राप्त गराउन छ वटा प्रदेशमा शाखा कार्यालय विस्तार गर्न लागेको हो । अहिले बीमितले सामान्य उजुरी दिन समेत संघीय राजाधनीको कुपण्डोलमा रहेको बीमा समितिको केन्द्रीय कार्यालयमा पुगेर उजुरी दिनुपर्ने बाध्यता रहँदै आएको छ । शाखा विस्तारसँगै बीमितहरुको गुनासोहरु प्रदेशमै सम्बोधन हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*