२० निर्जिवन बीमा कम्पनीका यस वर्षको मुनाफा कोरोना बीमा दावी भुक्तानीमा जाने, शेयरधनीको हात रित्तो हुने लगभग निश्चित

१९ माघ २०७८, बुधबार २२:२१

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको लागि ठूलो रकम खर्च गर्नुपर्ने भएपछि यस वर्ष नेपालमा सञ्चालित १८ वटै निर्जिवन बीमा कम्पनीहरुले मुनाफा वितरण गर्न नपाउने संकेत देखिएको छ ।

अर्थमन्त्रालयले कोरोना बीमाको दावी भुक्तानीको लागि २० वटै बीमा कम्पनीहरुले व्यहोर्न सक्ने रकमबारे बीमा समितिलाई ठोस छलफल गर्न निर्देशन दिएसँगै बीमा कम्पनीहरुको मुनाफा कोरोना बीमामा जाने लगभग निश्चित भएको हो ।

प्रारम्भिक रुपमा प्राप्त जानकारी अनुसार कोरोना बीमाको बक्यौता ११ अर्ब भन्दा बढि रकम मध्ये ४० प्रतिशत जति रकम बीमा कम्पनीको थाप्लोमा पर्ने देखिएको छ । यद्यपि कसले कति प्रतिशत व्यहोर्ने भन्ने एकिन भइसकेको छैन । कोरोना बीमा शुल्क उठाएर सोही शुल्क बापतको एक अर्ब रुपैयाँ २० वटा बीमा कम्पनीले कोरोना बीमाको लागि तिरेको, हालसम्म कारोना बीमाको लागि बीमा कम्पनीहरुले थप रकम नव्यहोरेका कारण पनि अर्थमन्त्रालयले बीमा कम्पनीहरुलाई कोरोना बीमा बापतको रकम व्यहार्न लगाउन बीमा समितिमार्फत आग्रह गरिरहेको स्रोतले जनाएको छ ।

कोरोना बीमा सुरुवातको चरणमा सबै बीमा कम्पनीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समेत हुने गरी रकम व्यहोर्ने उल्लेख गरेका थिए । कोरोना बीमा मापदण्डमा बीमा शुल्क के गर्ने भन्ने स्पष्ट उल्लेख नगरिएकोले कोरोना बीमा शुल्क उठाएर सोही रकम मात्रै बीमा कम्पनीहरुले व्यहोरेको अवस्था छ । अर्थमन्त्रालयले बीमा कम्पनीहरुले व्यहोर्न सक्ने रकमबाट एकिन भएपछि थप योजना बनाउने जनाइएको छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार कोरोना बीमा बापत हाल सञ्चालनमा रहेका सबै बीमा कम्पनीहरुले कम्पनीहरुले कम्तीमा चार करोडदेखि माथि कोरोना बीमा बापतको रकम व्यहोर्नुपर्ने हुनसक्ने जनाइएको छ । त्यस्तो अवस्थामा ठूलो रकम कोरोना बीमामा जाने हुँदा नेपालमा दर्ता भएका १८ वटा र दुई भारतीय बीमा कम्पनीका नेपालस्थित शाखा कार्यालयले व्यालेन्ससिटमा मुनाफा देखाउन नसक्ने हुनसक्ने जनाइएको छ ।

कोरोना बीमाको कूल बक्यौता रकम ११ अर्ब ४३ करोड मध्ये नेपालमा सञ्चालित २० वटा बीमा कम्पनीहरुले २५ प्रतिशत दायित्व व्यहोर्नेबारे बीमा समितिले गत कार्तिक २८ गते अर्थमन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ । सो आधारमा नेपालमा सञ्चालित बीमा कम्पनीहरुले साढे दुई अर्ब व्यहोर्नु पर्नेछ । तर, अर्थमन्त्रालय बीमा कम्पनीहरुले व्यहोर्ने अंश थोरै भएकोले थप गरेर ल्याउन पुनः निर्देशन दिएकोले बीमा समितिले अब कम्तीमा चार अर्ब रुपैयाँ बीमा कम्पनीहरुलाई दायित्व बहन गर्न आग्रह गर्ने बुझिएको छ । सो आधारमा प्रत्येक बीमा कम्पनीहरुको भागमा १६ करोड दायित्व पर्ने देखिएको छ । १६ करोड रुपैयाँ दायित्व बोकेपछि सम्भवतः नेपालका विरलै कम्पनीहरुले मुनाफा वितरण गर्न सक्ने एक बीमा कम्पनीका सिईओले बीमापोष्टलाई बताए ।

बीमा समितिले केही साता अघि नै सबै बीमा कम्पनीहरुलाई निर्देशन दिँदै नगद लाभांश वितरणमा रोक लगाइएकेको छ । त्यसरी रोक लगाउनुपर्ने कारणहरु मध्येमा कोरोना बीमा समेत एक भएको बताइन्छ ।

बीमा समितिले अर्थमन्त्रालयको निर्देशन बमोजिम कोरोना बीमाको दायित्व बहन गर्ने सम्बन्धमा भोलि बिहिवार सबै बीमा कम्पनीहरुसँग छलफल गर्दैछ । बीमा समितिले कोरोना बीमाको थप दायित्व बहन गराउन बीमा कम्पनीहरुलाई मनाउन नसकेमा कार्तिक अन्तिम साता अर्थमन्त्रालयमा बुझाएको प्रस्ताव जस्तै नहोला भनेर भन्न सकिदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*