सर्टिफिकेटको छानविन काण्डले बीमा कम्पनीहरुमा तरंग, धमाधम बैठक बस्दै

२१ माघ २०७८, शुक्रबार १४:२७

काठमाडौं । नियामक निकाय बीमा समितिले हिजो सबै कर्मचारीहरुको शैक्षिक योग्यता प्रमाणपत्रको विवरण ७ दिनभित्र बुझाउन निर्देशन दिएपछि बीमा क्षेत्रमा तरंग उत्पन्न भएको छ । शैक्षिक योग्यता सम्बन्धी प्रमाणपत्र बुझाउन बाँकी भएका, विदेशी शैक्षिक योग्यता प्रमाणपत्रधारीहरु तनावमा परेका छन् ।

बीमा समितिले सबै कर्मचारीहरुको शैक्षिक योग्यता सम्बन्धी एसएलसी देखिको विवरण पठाउन भनेको छ । यसले बीमा कम्पनीमा कार्यरत यता उताका सर्टिफिकेट भएका कर्मचारीहरु तनावमा परेका छन् । विदेशी शैक्षिक योग्यताको प्रमाणपत्र समकक्षता लिनुपर्ने भएकोले पनि त्यस्ता कर्मचारीहरु तनावमा परेका हुन् । बीमा क्षेत्रमा ठूलो मात्रामा त्रिवि बाहेकका शैक्षिक प्रमाणपत्रधारीहरु कार्यरत रहेका छन् ।

कतिपय बीमा कर्मचारीहरुको शैक्षिक योग्यता प्रमाणपत्र सक्कली नै भएपनि नेपाल सरकार र त्रिभुवन विश्व विद्यालयले मान्यता नदिने कलेजमा अध्ययन गरेका समस्यामा पर्ने भएका छन् ।

बीमा समितिको निर्देशनसँगै आज केही बीमा कम्पनीहरुमा बैठक बसेर आफ्ना कम्पनीहरुमा शैक्षिक योग्यता समस्या भएका कर्मचारीहरु कति छन् ? समस्या भए कस्ता कस्ता समस्या हुन् ? भनेर छलफल भएको एक बीमा कम्पनीका अधिकारीले जानकारी दिए ।

बीमा समितिले निर्देशनसँगै अब सबै कर्मचारीहरुको शैक्षिक योग्यता सम्बन्धी विवरण बुझाउनु पर्ने र झुठा भएमा बुझाउने कर्मचारी तथा बीमा कम्पनी फस्ने भएकोले सचेतता अपनाउनेबारे छलफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*