बीमा कम्पनीहरुको पुँजि बृद्धि गर्ने २०७२ सालदेखिको लक्ष्य बल्ल पुरा, कार्यान्वयन रणनीति जरुरी

१३ चैत्र २०७८, आईतवार ०९:०२

काठमाडौं । बीमा समितिमा हुँदा तत्कालिन अध्यक्ष फत्त बहादुर केसीले २०७२ सालमै जीवन बीमा कम्पनीको चुक्ता पुँजि चार अर्ब र निर्जिवन बीमा कम्पनीहरुको चुक्ता पुँजि दुई अर्ब बनाउन प्रस्ताव गरेका थिए । तत्कालिन सञ्चालक समितिले चुक्ता पुँजि बढाउने प्रस्ताव अघि बढाउन सकेन । वर्तमान बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले चुक्ता पुँजि दोब्बर भन्दा बढिले बढाउने निर्णयबाट २०७२ सालदेखिको प्रयास बल्ल आएर सार्थक भएको समितिका तत्कालिन अध्यक्ष प्रा.डा. फत्त बहादुर केसी बताउँछन् । पूर्व अध्यक्ष प्रा.डा. केसीले पुँजि बृद्धिको निर्णयले बीमा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउँछन् । यसको लागि बीमा समितिले पुँजि बृद्धि कार्यान्वयन गराउन रणनीतिक योजना समेत अघि सार्नुपर्ने उनको धारणा छ ।

प्रा.डा. फत्त बहादुर केसी मात्रै होइनन्, बीमा क्षेत्रमा गहिरो अध्ययन गरेका धेरै विज्ञहरु चुक्ता पुँजि बृद्धिले बीमा क्षेत्रमा पुँजि बृद्धिको निर्णयले सकारात्मक प्रभाव पार्ने बताउँछन् । बीमा कम्पनीहरुको चुक्ता पुँजि न्यून भएका कारण बीमा क्षेत्रमा अपेक्षाकृति व्यवसाय मौलाउन सकेको थिएन भने जोखिम धारण गर्ने क्षमता नभएकोले बीमा बीमा कम्पनीहरुले पुनर्बीमा बापत ठूलो रकम खर्च गर्न बाध्य हुँदै आएका थिए । बीमा कम्पनीको बोर्ड झुण्ड्याएर पुनर्बीमाको एजेन्टको काम गर्ने जस्तो अवस्थालाई अहिलेको बीमा समितिको निर्णयले नेपाली बीमा कम्पनीहरुको अवस्थालाई नयाँ युगमा प्रवेश गराउने निश्चित छ ।

त्यति हुँदा हुँदै पनि बीमा समितिले पुँजि बृद्धिको योजनालाई रणनीतिक रुपमा अघि सार्नुपर्ने पूर्व अध्यक्ष प्रा.डा. केसीको सुझाव छ । उनका अनुसार उचित समय दिएर मर्जरका लागि प्रोत्साहन गर्नुपर्ने आजको आववश्यकता हो । धेरै कम्पनी भएर अस्वस्थ प्रतिस्पर्धा भएकोले बीमा कम्पनीहरुको क्षमता अभिबृद्धि तथा बीमितले पाउने गुणस्तरीय सेवाको लागि समेत मर्जरलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको उनको प्रतिक्रिया छ ।

राज्य नियन्त्रित क्षेत्रमा आएर सेवामूलक व्यवसाय गर्ने, केही अर्ब लगानी गर्ने बार्षिक अर्बौ रुपैयाँको कारोबार गरेर व्यक्तिगत लाभ हासिल गर्ने गलत प्रवृत्तिलाई सुधार्न समेत पुँजि बृद्धिको निर्णयले सही दिशाबोध गर्नेदेखिएको छ । केही करोड लगानी गर्ने, खुराफाती गर्ने, प्रोक्सी किन्ने सञ्चालक बन्ने अनि प्रभावको आधारमा बीमा कम्पनीको अध्यक्ष बनेर सिंगो कम्पनी हल्लाउने परिपाटीलाई समेत निरुत्साहित गर्नेछ । पुँजि बृद्धिसँगै अब धेरै कम्पनीहरु मर्जरमा जान बाध्य हुनेछन् भने कोही हकप्रदबाटै आफ्नो उद्देश्य पूरा गर्न सक्नेछन् । हकप्रदका लागि समेत बीमा कम्पनीहरु स्वतन्त्र छन् । तर बीमा समितिको प्रोत्साहन हकप्रद भन्दा पनि मर्जरमा देखिएको छ । विगतको अनुभवका आधारमा मर्जरमा जान त्यति सजिलो भने छैन । राष्ट्र बैंकहरुले बीग मर्जरको अबधारणा ल्याएको धेरै वर्ष भइसक्यो पहिलो बिग मर्जरको प्रयास गरिएको हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया झण्डै दुई वर्षको अभ्यासपछि भाँडिएको छ ।

बीमा समितिका बारेमा चलेको हल्ला, पुँजि बृद्धिका लागि तोकिएको समय अवधीका कारण नयाँ लाईसेन्स वितरण गर्ने उद्देश्यका लागि मर्जर अघि सारिएको होइन भन्ने कुरा सुनिश्चित गराउन बीमा समिति सक्नुपर्दछ । अहिले बीमा कम्पनीहरुको संख्या बढि भयो भनेर रातारात, डण्डा लगाएर मर्जरमा जान बाध्य पार्ने र भोलि फेरि नयाँ लाईसेन्स वितरण गर्ने खेल नखेलेको अवस्थामा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुको पुँजि बृद्धि गरेर ऐतिहासिक र साहसिक कार्य गर्न सफल भएका छन् ।

आगामी एक वर्षभित्र पुँजि बृद्धि गर्ने निर्णय कार्यान्वयन गराउन सम्भव छैन । नेपालको अहिलेको कानुनी अवस्था, तोकिएको समयावधी, बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कन गर्न आवश्यक दक्ष जनशक्तिको उपलब्धताको कारण पनि एक वर्षभित्र पुँजि बृद्धि गर्ने निर्णय कार्यान्वयन सम्भव छैन । पुँजि बृद्धि गर्ने निर्णय अति जरुरी, अति आवश्यक र साहसिक हुँदा हुँदै पनि एक वर्षे अवधीका कारण विरोध गर्नुपर्ने अवस्थाको अन्त्यको लागि समेत समयसीमाबारे चलकता अपनाउनुपर्ने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*