अर्थमन्त्री शर्माको नैतिकता र इज्जत लिलामीमा चढाउँदै बीमा समिति

बीमा समितिका अध्यक्षदेखि पूर्व अर्थमन्त्री विष्णु पौडेलसम्मको ग्राण्ड डिजाईन !
२५ जेष्ठ २०७९, बुधबार ०८:००

समाचार टिप्पणी

काठमाडौं । उज्यालोका नायक भनेर आम जनताको मन मस्तिष्कमा बस्न सफल तथा १० वर्षे जनयुद्धमा जनमुक्ति सेनाको डेपुटी कमाण्डर जनार्दन शर्मा नैतिकतामाथि आँच आउने गरी बीमा समितिले गरेको कैयौं निर्णयहरुको घेरा कसिलो बन्दै गएको छ । बीमा समितिमा भएका श्रृंखलाबद्ध भ्रष्टाचारका कारण अर्थमन्त्री शर्माको राजनीतिक भविष्य समेत दाउमा लाग्न पुगेको छ ।

पछिल्लो समय बीमा समितिबाट बैशाख २८ र जेठ ४ गते भएका दुई निर्णयबाट हिमालयन रि नामक निजि पुनर्बीमा कम्पनीलाई बार्षिक साढे छ अर्बभन्दा बढि लाभ पुग्न गएको छ । हिमालयन रि नामक पुनर्बीमा कम्पनीलाई दिने बीमा समितिको निर्णयबाट उत्पन्न सिंगो अपजस भारी अर्थमन्त्री शर्माको मात्रै काँधमा पर्ने गरी गरिएको कारण पनि आगामी दिनमा मन्त्री शर्माको लागि कठिन हुने देखिएको छ ।

हात हाल्नै नहुने हिमालयन रि इन्स्योरेन्स कम्पनीका कारण जनयुद्धका कमाण्डर र संसदीय व्यवस्थाका उज्यालोका नायक भनेर बनाएको प्रभाकरको छवि धुमिल हुन पुगेको छ । यसमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले योजनाबद्ध तरिकाले फसाउन सफल भएका छन् । सिलवालले पनि आफैले उक्त कार्य गरेको नभई यसअघिका अर्थमन्त्री विष्णु पौडेल योजनामा काम गरेका तथ्यहरु फेला परेका छन् । मन्त्री शर्मा पनि घेराबन्दीमा परेर तथा चतुर पूर्व सचिव सूर्य प्रसाद सिलवाललाई चिन्न नसक्दा माओवादी केन्द्रभित्र उत्तराधिकारी, नेपालको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको व्यक्तित्वको नैतिकता, इमान तथा इज्जतमाथि दाग लगाउने काम हुन पुगेको छ ।

अर्थमन्त्री शर्मा आफै यस्ता विवादित र निजि कम्पनीको पृष्ठपोषण गर्ने व्यक्ति होइनन्, तर उनका वरपर रहेका केही व्यक्ति, समुहको कोपभाजनमा परेका कारण मन्त्री शर्माले आफ्नो खुट्टामा बन्चरो हानि रहँदा समेत मौन रहँदै आएका छन् ।

बीमा समितिले २०७८ बैशाख २८ र जेठ ५ गते गरेको निर्णयबाट निजि हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बार्षिक साढे छ अर्ब रुपैयाँ फाइदा हुनेछ भने सरकारी लगानीको कम्पनी नेपाल पुनर्बीमा कम्पनीलाई बार्षिक साढे तीन अर्ब रुपैयाँ घाटा हुने छ । यो विषयमा बीमा समितिले गैर कानुनी तरिकाले अर्थमन्त्री शर्मा प्रत्यक्ष रुपमा संलग्न रहेको प्रमाणित हुने गरी निर्णय गरिदिएकोले अर्थमन्त्री शर्मा मात्रै नभई माओवादी केन्द्र पार्टी समेत बद्नाम हुन सुरु भएको छ ।

बीमा समितिले गरेको गैर कानुनी निर्णयका कारण अर्थमन्त्री शर्माको नाम बद्नाम भइरहेको छ । पार्टीभित्र सम्भावना बोकेको र माफिया र भ्रष्टाचारीहरुको सेटिङका विरुद्धमा धावा बोल्न सक्ने प्रभावशाली व्यक्तिको हुर्मत लिने वातावरण सिर्जना गर्ने काम बीमा समितिबाट भइरहेका निर्णयहरुले गरिरहेको छ ।

एकातिर बीमा समितिले विवादित निर्णय गरिदिने र अर्कोतिर अर्थमन्त्री शर्माका आफन्तहरु जोडाएर विवादमा पार्ने काम समेत बीमा समितिबाटै भइरहेको छ । स्रोतका अनुसार विष्णु पौडेलले करोडौं रुपैयाँ घुस सेटिङमा अध्यक्ष बनेर बीमा समितिमा छिरेका सूर्य प्रसाद सिलवाल अझै पनि पूर्व अर्थमन्त्री पौडेलसँग नजिकको सम्बन्ध बनाएर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बालकोटमा रिपोटिङ गरे झै गरिरहेका छन् । पछिल्लो पटक बैशाख २८ गते र जेठ ५ गते बीमा समितिले गरेको निर्णयबाट प्राप्त लाभको एक हिस्सा नजराना साहिल अग्रवालमार्फत विष्णु पौडेलले समेत प्राप्त गरेको स्रोतको दावी छ ।

गत आम निर्वाचनमा जसरी बालेनले काठमाडौंमा जित्दैछन् भन्ने कुरा कांग्रेस, माओवादी, एमाले जस्ता प्रभावशाली नेताहरुले कुनै सुईको पाएका थिएनन्, अनि नतिजा आएपछि संसदीय व्यवस्थाका हिमायतीहरु नै हिस्स हुनु परेको थियो । त्यस्तै, अहिले पनि बीमाबाट भएका निर्णयहरुलाई अर्थमन्त्री शर्माले नजरअन्दाज गर्ने हो भने उनको राजनीतिक भविष्य नै संकटमा पर्ने हुँदा समय बाँकी छदै (जुन असाध्यै थोरै मात्रै छ) बैशाख २८ र जेठ ४ गते बीमा समितिबाट हिमालयन रि सम्बन्धमा भएका निर्णयहरु फिर्ता लिएर हुन लागेको साढे छ अर्बको नीतिगत भ्रष्टाचार रोक्ने मात्रै नभई आफ्नै राजनीतिक भविष्य समेत सुनिश्चित पार्नु ढिलाई गर्नु हुँदैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*