लघुबीमाको लाइसेन्स लिलाम बढाबढमा बिक्री हुँदै, सूचना प्रकाशन गर्ने तयारीमा बीमा समिति

३० जेष्ठ २०७९, सोमबार १०:२२

काठमाडौं । सरकारले लघुबीमाको लाइसेन्स खुल्ला गर्ने तयारी गरेको छ । अर्थमन्त्रालयकै निर्देशनपछि बीमा समितिले लघुबीमाको लाइसेन्स खुल्ला गर्न लागेको हो । लघु बीमाको लाइसेन्स लिनेहरुले भने यसअघि हिमालयन रि इन्स्योरेन्स कम्पनीको लाइसेन्स झै लिलाम बढाबढ सुरु भएको छ ।

यसअघि एक वटा पुनर्बीमा कम्पनीलाई मात्रै लाइसेन्स दिने भनेर सूचना प्रकाशित गरी तीन अर्बभन्दा बढि घुस सेटिङमा लाइसेन्स वितरण गरेको बीमा समितिले यस पटक लघुबीमाको लाइसेन्स पनि करोडौं रुपैयाँमा सेटिङमा वितरण गर्न सुचना प्रकाशन गर्ने तयारी गरिरहेको छ । बीमापोष्टलाई प्राप्त सूचना अनुसार माफियाहरुको गिरोहले बीमा समितिबाट लाइसेन्स पाउने तीन वटा कम्पनीको गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् ।

अर्थमन्त्रालयमा गलत रिपोर्टिङ गरी कमाउन पल्केका केही खराव तत्वहरुले अर्थमन्त्री जनार्दन शर्माको हुर्मत लिने गरी पुनः लघुबीमाको लाइसेन्स वितरण गर्ने खेल सुरु भएको छ । विभिन्न व्यापारिक समुहहरुले होटलमा बसेर लघुबीमाको लाइसेन्सको लागि अर्थमन्त्री जनार्दन शर्मा, अर्थसचिव मधु कुमार मरासिनीलाई रकम नदिई लाइसेन्स नपाइने भन्दै रकम संकलन गरिरहेका छन् । सो समुहले अर्थमन्त्री शर्माका आफन्तको नाम समेत जोडेर रकम संकलन गरिरहेको सूचना प्राप्त भएको छ ।

माफियासँग मिलेर इमान्दार र राजनीतिक भविष्य भएका अर्थमन्त्री जनार्दन शर्मालाई बद्नाम गर्न सक्रिय भएर लागि रहेको गिरोहहरुले लघुबीमाको लाइसेन्सका लागि अन्तिम सेटिङ भइसकेको र कर्मकाण्डी सूचना निकालेर साउनभित्रैमा लाइसेन्स दिने तयारी अन्तिम चरणमा छ । बीमापोष्टको सम्पर्कमा आएक एक व्यक्तिले लघुबीमाको लाइसेन्स लिन रकम बुझाइसकेको र तीन आगामी एक साताभित्रैमा बीमा समितिबाट सूचना निकाल्न नसके रकम नै फिर्ता गर्ने भन्दै एक लाख कित्ता शेयरका लागि ८० लाख रुपैयाँ घुस रकम बुझाएको दावी गरेका छन् ।

सो आधारमा बीमा समितिले वितरण गर्ने लाइसेन्स पहिले नै सेटिङ भइसकेको र लघुबीमाको लाइसेन्सकै नाममा कारोडौं रुपैयाँ संकलन हुने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*