सगरमाथा इन्स्योरेन्स दोस्रो पटक पराजित, तत्काल तीन करोड ९६ लाख दावी भुक्तानी दिनुपर्ने

३ असार २०७९, शुक्रबार ०६:००

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले उच्च अदालत पाटनमा दायर गरेको मुद्दा यही असार १ गते टुंगिएको छ । यसअघि सगरमाथा इन्स्योरेन्स कम्पनीले पाएको अन्तरिम आदेश खारेज भएसँगै अब फैसला कार्यान्वयन गर्ने बाटो खुलेको छ । आगोलागीबाट फर्निचर गोदाम जलेर खरानी भई सडकमा पुगेका गौरीशंकर फर्निसिङका सञ्चालक रामबहादुर कार्कीले दोस्रो पटक उच्च अदालत पाटनबाट न्याय पाएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीले फैसला कार्यान्वयन रोक्न माग गर्दै दायर रिट हिजो खारेज भएसँगै कम्पनी दोस्रो पटक पराजित भएको हो । अब कम्पनीले तत्कालै करिब चार करोड रुपैयाँ बीमितलाई भुक्तानी दिनुपर्ने भएको छ ।

उच्च अदालतका न्यायाधिश जनक पाण्डे र अमृत बहादुर बस्नेतको पूर्ण इजलाशले यसअघि २०७८ चैत्र २९ गते जारी अल्पकालिन अन्तरिम आदेश खारेज गर्दै बीमा समितिलाई बिल बिजकको हर हिसाब गरी बीमा गरेकै अवस्थामा भएको आगोलागी पीडितलाई दावी भुक्तानी दिलाउन असार १ आदेश जारी भएको हो ।

 

फैसला कार्यान्वयन रोक्न सगरमाथा इन्स्योरेन्स कम्पनीले सेटिङमा माहिर शम्भु थापासहितका १२ जना कानुन व्यवसायीलाई लाखौं रुपैयाँ भुक्तानी गरेर इजलाशमा उतार्दै बैशाख ७ गते यता पर सार्दै आएका थिए । सर्वसाधारण जनताको लगानी र जनताको बीमा शुल्कबाट चलेको कम्पनीमा आर्थिक दुरुपयोग गर्दै देशकै महंगो भिआईपी कानुन व्यवसायीलाई बहसमा उतारेर पराजित भइसकेको मुद्दामा पीडितलाई आगोलागी बीमाको दावी भुक्तानी नदिने दलिल पेश गर्दै आएको सगरमाथा इन्स्योरेन्स कम्पनी अन्ततः पराजित भएको छ ।

फैसलाको पूर्णपाठ तयार भएपछि बीमा समितिले दावी भुक्तानी गराउने गरी यसअघि जारी अन्तरिम आदेश खारेज भएसँगै अब कम्पनीले तत्कालै तीन करोड ९६ लाख रुपैयाँमा ब्याज समेत थप गरी भुक्तानी गर्नुपर्ने भएको छ । आगोलागी पीडितले न्याय पाउन भने अझै केही दिन कुर्नुपर्ने छ, फैसला कार्यान्वयन भएपछि मात्रै पीडितले न्याय पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*