स्नातकोत्तर नगरेका व्यक्ति विज्ञ सञ्चालक बन्न नपाउने, स्नातक उत्तिर्ण सञ्चालक, अध्यक्ष बन्न पाउने

३ असार २०७९, शुक्रबार १८:१२

काठमाडौं । विश्वविद्यालयबाट उच्च शिक्षाको उपाधि नलिएका व्यक्ति बीमा कम्पनीको संचालक वा अध्यक्ष बन्न नपाउने भएका छन् । नयाँ बीमा ऐन लागू भएपछि यो व्यवस्था लागू हुनेछ । अर्थसमितिबाट बिहिबार पारित भएर आज संसदमा बीमा विधेयक पेश भएको छ।

बीमा कम्पनीको संचालक बन्न स्नातकोपाधि* अनिवार्य गरिएको छ । तर, यसअघि सञ्चालक बनिसकेको व्यक्तिको लागि शैक्षिक योग्यताको कारण रोकिने छैन । चार्टर्ड एकाउन्टेन्सी (सीए) पास गरेकाले संचालक बन्न पाउने प्रष्ट पारिएको छ ।बीमा कम्पनीको सञ्चालक बन्न सीए, वा बीमा, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा स्नातक गरेको हुनुपर्ने नयाँ ऐनमा रहेको छ ।

 

 

तर, स्वतन्त्र सञ्चालक हुन भने स्नातकोत्तर उत्तिर्ण हुनुपर्ने व्यवस्था अनिवार्य गरिएको छ । उक्त व्यवस्था यसअघिको मस्यौदाका दफा ५० को उपदफा २ मा अर्थ समितिले संशोधनमार्फत यस्तो व्यवस्था गरेको हो ।

त्यस्तै, धितोपत्र बोर्डबाट धितोपत्र कारोबार गर्न अनुमति पाएका व्यवसायीहरुलाई पनि बीमा कम्पनीको संचालक बन्न रोक लगाइएको छ । बीमकको संचालकको कार्यकाल ४ वर्ष हुने र पछि पुनः नियुक्त हुन सक्ने उल्लेख छ । तर विज्ञ संचालक भए बढीमा चार वर्ष मात्र संचालक बन्न पाउने व्यवस्था बीमा ऐनमा रहेको छ ।

सरकारी निकायमा कर्मचारी वा पदाधिकारी, एकाघर परिवारको दोस्रो व्यक्ति, आधारभूत सेयर नलिएको व्यक्ति, कम्पनीसँग स्वार्थ बाझिएको व्यक्ति बीमा कम्पनीको सञ्चालक बन्न पाउने छैन ।

 

*सम्पादन गरिएको ।

-यसअघि स्नातकोत्तर अनिवार्य भन्ने वाक्यांश असावधानीवश पर्न गएकोमा भुल सुधार गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*