क्षति निर्धारणमा बीमा सर्भेयरको भूमिका

शाम्बराज लामिछाने
१ श्रावण २०७९, आईतवार ०३:४३

बीमालेखका प्रकृति र विशेषता त्यसले सुरक्षण गर्ने क्षतिको परिधि अनुरुप रहेका हुन्छन् । बीमित वस्तुको क्षति मुल्याङ्ककन गर्ने कार्य धेरै जटिल कार्य हो । नष्ट भइसकेको वा खास रुपमा क्षति भइसकेको वस्तुलाई निर्विवाद ढंगले मुल्याङ्कन गरी त्यसलाई मौद्रिक मुल्यमा आकलन गर्नुपर्ने हुन्छ । निर्जीवन बीमाको क्षेत्रमा क्षति निर्धारण गर्ने तथा त्यसको मुल्याङ्कन गर्ने कार्यमा संलग्न रहने विशिष्ट योग्यता प्राप्त पेशाबीच सहयोगको अपेक्षा गरिएको हुन्छ ।

बीमा कम्पनीमा जब दाबी पर्न जान्छ त्यस बखत क्षतिलाई आंकलन गर्ने दृष्टिकोण बीमक र बीमितबिच फरक रहेको हुुन्छ यसै फरक दृष्टिकोणलाई एकापसमा समिप्यकरण गर्ने सर्भेयर वा क्षति निर्धारकको भुमिका रहन्छ ।

यस अर्थमा बीमालेख तथा बीमित वस्तुको विशेषता अनुरुपको विशेषज्ञ सर्भेयर भएको खण्डमा उसले गरेको क्षति मुल्याङ्कन वस्तुनिष्ठ र यथार्थमा आधारित रहन सक्छ । सर्भेयरलाई स्वतन्त्र विशेषज्ञ मानिने भएकाले उसले गरेको क्षति निर्धारण निष्पक्ष रहेको मानिन्छ । कुनै पक्षको पनि स्वार्थभन्दा पर रहेर घटना विवरण र क्षति मुल्याङ्कनको यथार्थ चित्रण सर्वेयर प्रतिवेदनमा रहनुपर्छ । सर्भेयर प्राकृतिक व्याक्ती वा संस्थागत निकाय दुबै हुन सक्ने भएता पनि बीमकले सर्भेयर नियुक्त गर्दा बीमा लेख र क्षतिको प्रकृति अनुरुपको विशेषज्ञता भएको सर्भेयर भएको हुनुपर्दछ । जस्तै मोटर बीमाको सम्बन्धमा अटोमोबाइल वा मेकानिकल इनिजनियर, आग लागिको सम्बन्धमा विद्युतिय क्षतिमा इलेक्ट्रिकल इन्जिनियर, स्टकको क्षतिमा चाटर्ड एकाउण्टेण्ट, परियोजनाको क्षति निर्धारण गरेमा बढी यथार्थ र विशेषता पुर्ण प्रतिवेदन प्राप्त हुने अपेक्षा गर्न सकिन्छ । बीमा व्यवसाय तथा बीमा बजारमा सर्भेयरको भुमिका निम्नलिखित । रहने अपेक्षा गर्न सकिन्छ ।

१) स्वतन्त्र पेशाविद र विशेषज्ञको रुपमा कार्य गर्नु

सर्भेयरको भुमिका बीमक तथा बीमित दुबैतर्फ रहेको हुन्छ । क्षतिको प्रमाणिकरणबाट बीमकले दायित्व निर्धारण गर्ने आधार प्राप्त गर्छ भने बीमितले क्षतिपुर्ति पाउने अधिकार प्राप्त गर्दछ । जसबाट छिटो छरितो र निष्पक्ष रुपले दाबी भुक्तानी हुन मदत गर्दछ । बीमितले दाबी गर्न आवश्यक कागजात विवरण जुटाउन र भुक्तानी प्रक्रियामा व्यक्तिगत सहयोग पुुग्दछ । साथै बीमित वस्तु,आधिकारिक व्यक्तिको पहिचान गर्न र बीमा लेखका शर्त तथा अवस्थाको बारेमा स्पष्ट पार्न समेत सर्भेयरको उतिकै भुमिका रहन्छ । दाबी फछ्र्यौटको मुख्य उदेश्य नै बीमा लेखको शर्त बमोजिम भएको क्षतिको प्रमाणित गर्नु र बीमित तथा बीमकबीचचको बीमा करारको परिपालना गर्नु भएकोले यस सन्दर्भमा एक स्वतन्त्र पेशाविद र विशेषज्ञको रुपमा सर्भेयरको भुमिका अपेक्षा गरिएको हुन्छ । वास्तवमा सर्भेयर बीमकको हितमा मात्र कार्य गर्ने पक्षधर नभई बीमित र बीमक दुबै तर्फको सहजकर्ता तथा मध्यस्थकर्ताको रुपमा रहेको हुन्छ ।

२) बीमितको इच्छाको सम्मान गर्नु

दाबि योग्य क्षतिको इन्कार भएको खण्डमा बीमा कम्पनी र व्यक्ति बीचको करार सम्बन्धको अवधारणा तथा बीमाको माध्यमबाट व्यक्तिले सामाजिक रुपमा सुरक्षित हुने आधारभुुत सिद्धान्तको पराजय हुन्छ, जुन पराजयलाई टार्न बीमा सर्भेयर वा लस एडजस्टरले ठुलो योगदान दिएको हुन्छ । सर्भेयरले बीमक तथा बीमितप्रति कुनै पुर्वाग्रह नराखि विरुद्ध पेशागत दायित्वमा आधारित भएर प्रतिवेदनमा पुर्वाग्रहपन देखिएको खण्डमा समग्र बीमा व्यवसायप्रति जनमानसमा विश्वास नरहने अवस्था आउँन्छ, फलस्वरुप बीमाको उत्पादनहरु अर्थात बीमा लेखको प्रचलनमा ह्रास आउन जान्छ ।

३) बीमाको आधारभुत सिद्धान्तबारे साक्षरता प्रदान गर्नु

सर्भेयर प्राज्ञिक र पेशागत विशेषताको आधारमा बीमाविज्ञ पनि हुन् । उनीहरुको बीमाको आधारभुत सिद्धान्तहरु बुझेका हुन्ँछन् तसर्थ बीमा दाबीमा क्षति मुल्यङ्कन गर्दा बीमितलाई बीमालाई बीमाको आधारभुत सिद्धान्त बुझाई प्राविधिक रुपमा सन्तुष्ट पार्न सक्नुपर्छ । यसो भएमा बीमा दाबि न्यायिक उजुरीको कार्यविधिगत तर्फ नगई छिटो छरितो रुपमा फछ्यौट हुन जान्छ । जसबाट क्षति पुगे पक्ष वा बीमित पुनस्थापित हुन सक्छन भने बीमकले व्यवसायलाई व्यवहारिक रुपमा समाजमा विश्वास कायम राख्न सक्षम हुन्छन् ।

४) घटनाको अनुसन्धानात्मक कार्य गर्नु

बीमा दाबिमा पक्षपात पुर्ण व्यवहार गर्नु निषिद्ध रहेको हुन्छ । उचित अनुसन्धान नगरि दाबि इन्कार गर्नु बीमितप्रति अन्याय गर्नु हो । बीमा दाबिमा अनुुसन्धानात्मक कार्य गर्ने प्रमुख विशेषज्ञ नै सर्भेयर हो तसर्थ उसमा शीघ्र उचित र समनयायिक तबरले दाबि र घटनाको अनुसनधान गर्नुपर्ने दायित्व हुन्छ । बीमा लेख बिक्री गर्दा बीमक र बीमितबीच साहु र असामि जस्तो व्यवहार गरिएको अनुभुति बीमितबीच साहु र असामि जस्तो व्यवहार गरिएको अनुभुति बीमितमा नपरोस् । बरु कानुनी रुपमा उजुरी गरेको भए चित्तबुझ्दो क्षतिपुर्ति पाईन्थ्योे कि भन्ने गुनासो पनि बीमितमा नपरोस् ।

५) बीमा दाबी प्रक्रियामा बीमितलाई सहयोग गर्नु

बीमा लेख खरिद गरेपछि बिमितको हित सुरक्षित भएको मान्यता रहन्छ तर शर्त बमोजिमको घटना घटेको तथ्य बीमित समक्ष सोझै जानकारि नहुन सक्छ तसर्थ बीमित आफ्नो अधिकार प्राप्त गर्न चनाखो नहुने हो भने र समयमा बीमकलाई जानकारी नगराउने हो भने घटनाको परिस्थिति र प्रमाणहरु परिवर्तन भईसकेको हुन्छ फलस्वरुप यथार्थ क्षति मुल्याङ्कन प्रक्रियामा सर्भेयरको प्रवेश भइसकेपछि आवश्यक कागजात विवरण पेश गर्नुुपर्ने र घटनाको परिस्थिति यथावत राख्नु्पर्ने व्यहोरा बीमित जानकार रहनुपर्दछ यसका लागि सर्भेयरले आफ्नै तर्फबाट बीमितहरुलाई लक्षित गरेर साक्षरतामुलक कार्यक्रम संचालन गर्न सक्छन । क्षति मुल्याङ्कनको क्रममा सर्भेयरले आफु बीमकको लागि मात्र नभएर बीमितको हितको लागि समेत कार्य गर्ने पेशाविदको रुपमा प्रस्तुत हुनु पर्दछ ।

६) पेशालाई पुर्ण मर्यादित र व्यवसायिक बनाउनु

नियमनकारी निकायहरुबाट निर्धारित आचार संहिताको पालना गरी पेशागत मर्यादा र व्यावसायिकता कायम राख्नु बीमा व्यवसायसंग सम्बद्ध राष्ट्रिय र अन्तराष्ट्रिय प्रचलन सिद्धान्त आदिसँग जानकार रहनु, गोष्ठी कार्याशाला, सेमिनार प्रतिनिधित्व दर्शाउनु आदिबाट सर्भेयरले व्यवसायिक क्षमताको अभिबृद्धि गर्न सक्दछन् ।

(७) पुर्ण प्रतिवेदन पेश गर्नु

क्षति मुल्याङ्कनको लागि बीमकबाट कार्यादेश भएपछि सर्भेयरले अनुसन्धान तथा क्षति मुल्याङ्कन गरी निम्नलिखित विषय वस्तुमा तथ्य र प्रमाण विश्लेषण समेत गरि निम्नलिखित विषयहरु स्पष्ट खुल्ने गरि क्षति मुल्याङ्कन प्रतिवेदन पेश गनुपर्छ ।

१) क्षति बीमालेखले समेटेको अवधिभित्र परेको छ छैन ।
२) दाबि परेको क्षतिलाई बीमालेखखमा उल्लेख भएको जोखिमले समेटेको छ छैन ।
३) क्षति वा नष्ट भएको सम्पति बीमालेखमा उल्लेख भए बमोजिम छ छैन ।
४) दाबिकर्ता क्षतिपुर्ति प्राप्त गर्न योग्य छ छैन ।
५) बीमा गरेको क्षेत्रभित्र क्षति भएको हो होइन ।
६) क्षतिपुर्ति हुने प्रकारको हो होइन ।
७) कतै दाबि जालसाजीपुर्ण वा झुठ्ठा त होइन ।

यस प्रकार सर्भेयरले उल्लेखित अपेक्षित भुमिकालाई मध्यनजर राखि व्यवसायिक क्रियाकलाप सञ्चालन गरेमा प्रतिवेदन निष्पक्ष रहि सो को आधारमा दाबि निर्धारण गर्न बीमकलाई सहज हुने गर्दछ । क्षति हुदाँको घटना र परिस्थीति सोहि रुपमा रहि रहेको हुदैन र पछि त्यसको परिणाम मात्रको आंकलन गरि क्षति निर्धारण गर्दा वस्तुनिष्ट नहुन सक्छ । तसर्थ पछिसम्म फरक नपर्नेगरी प्रतिवेदन पेश भएमा त्यसमा रहेको तथ्य तथा प्रमाणका आधारमा दाबि सम्बन्धी निर्णय पछिसम्म प्रमाणिकतापुर्ण अभिलेखको रुपमा गर्दछ । जसको आधारमा बीमकलाई पछि पर्ने दाबि निर्धारण गर्न समेत सन्दर्भ सामाग्रिको रुपमा लिन सकियोस् । बीमा व्यवसायको क्षेत्रमा सर्भेयरको पेशालाई बीमा व्यवसायको अभिन्न अंगको रुपमा ग्रहण गरिसकेको हुदाँ यो वर्गले पनि आफ्नो पेशागत व्यवसायमा विशिष्टिकरण गर्दै जानु अपरिहार्य रहेको छ ।

(लेखक बीमा समितिका उप निर्देशन हुन् । प्रस्तुत लेख बीमा समितिले प्रकाशन गरेको बीमा समाचार र विचारबाट साभार गरिएको हो । साथै प्रस्तुत लेख लेखकको निजि विचार हो, संस्थागत प्रतिनिधित्व गर्दैन ।)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*