ल्याण्डिङ्ग प्रक्रिया ओके, नर्मल टचडाउनः तर कसरी लाग्यो टर्किस एयरको चक्कामा आगो ?

काठमाडौं । आज विहान ६ः३३ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चक्कामा लागेको आगो विमानस्थलभित्रै रहेको दमकमले नियन्त्रणमा लिइसकेको छ ।
अवतरणको क्रममा जहाजमा आगो लाग्नु सामान्य घटना भएपनि सबै कुरा सामान्य हुँदा हुँदै टर्किसको जहाजमा आगो किन लाग्यो भन्ने प्रश्न उठेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार टर्किस एयरको जहाज टिके ७२६ जहाज सामान्य रुपमा अवतरण गरेको थियो ।
प्राधिकरणका प्रबक्ता ज्ञानेन्द्र भुलले जहाजले सामान्य टच डाउन गरेको बताए । उनले भने, ‘ल्याण्डिङ प्रोटोकल सबै सामान्य नै थियो, कसरी आगो लाग्यो भनेर अहिले टर्किस एयरको प्राविधिक टोली र प्राधिकरणको प्राविधिक टोलीले चेकजाँच गरिरहेको छ । आज साँझसम्म प्रतिवेदन आउँछ ।’


सबै सामान्य ल्याण्ड गरेको जहाजमा किन र कसरी आगोलागी भयो ? प्रश्न उठेको छ । जहाज आगोलागी हुनुमा जहाजको स्पीड, जहाजमा रहेको लोड इत्यादि फ्याक्टरहरुले काम गरेका हुन्छन् ।
उता, जहाजहरुको उडान सम्बन्धी तथ्याङ्क संकलन गर्ने संस्था फ्लाईट राडार२४ डटकमले भने अन्तिम अवस्थामा जहाज ओभरसूट गर्न खोजेको देखाएको छ । प्राधिकरणका प्रबक्ता भुलले भने ओभरसूटको प्रयास नगरेको बताउँछन् ।
तथ्याङ्क अनुसार धावनमार्गमा प्रवेश गर्दा जहाजको स्पीड १५८ किलोनटको गतिमा रहेको थियो । त्यतिबेला ४१५० फिटमाथि जहाज उडिरहेको देखिन्छ । तर, जहाज टच डाउन गर्ने समयमा जहाजको उचाई ४२०० फिट अर्थात सुरुको भन्दा ५० फिट माथि देखिएको छ । सो समयमा जहाजको स्पीड घटेर १०६ किलोनटमा आइसकेको हुन्छ । अवतरण गर्ने अन्तिम सेकेण्ड जहाजको उचाई किन बढ्यो ? भन्ने प्रश्न उठेको छ ।
कहिलेकाँही फ्लाइटडाटाको तथ्याङ पनि तलमाथि हुनसक्छ भने अर्को यथार्थ पनि हुनसक्छ । उक्त बिषय बिस्तृतमा अध्ययन प्रतिवेदनपछि मात्रै बाहिर आउनेछ । घटनामा खासै ठूलो क्षति नभएकोले बीमा दावी पर्ने सम्भावना छैन ।












