प्रत्यक्ष बीमातर्फको २० प्रतिशत बीमा व्यवसाय नेपाल पुनर्बीमा कम्पनीमा पठाउन सबै बीमा कम्पनीमा पत्राचार

९ श्रावण २०७९, सोमबार ११:४२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुलाई कूल बीमाको प्रत्यक्ष हिस्सातर्फको २० प्रतिशत व्यवसाय नेपाल पुनर्बीमा कम्पनीलाई पठाउन पत्राचार गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले केही दिनअघि सबै बीमा कम्पनीहरुलाई पठाएको पत्रमा प्रत्यक्ष हिस्सा बापतको २० प्रतिशत व्यवसाय पठाउन पत्राचार गरेको हो । बीमा समितिले आर्थिक ऐन विपरित हुने गरी दिएको निर्देशन अमान्य रहेको भन्दै नेपाल पुनर्बीमा कम्पनीले यस्तो पत्राचार गरेको हो ।

नेपाल पुनर्बीमा कम्पनीले पठाएको पत्र एक बीमा कम्पनीका सिईओ (हिमालयन रि इन्स्योरेन्सका शुभचिन्तक) ले बीमा समितिमा बुझाई दिएको खुलेको छ । ति सिईओले किन त्यस्तो काम गरे भन्ने खुल्न बाँकी छ ।

नेपाल पुनर्बीमा कम्पनीको पत्र आएपछि नेपाल सञ्चालित बीमा कम्पनी अन्योलमा परेका छन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीमा पुनर्बीमा गराउन नचाहेका बीमा कम्पनीहरुले नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउन धमाधम सम्झौता गरिरहेका छन् । पुनर्बीमा कम्पनीको पत्रले नेपाली बीमा कम्पनीहरुलाई सजिलो भएको छ ।

गत जेठ ५ गते बीमा समितिले गरेको निर्णयमा प्रत्यक्ष हिस्सा आधा आधा गर्ने भनेपनि नेपाल पुनर्बीमा कम्पनीले नमान्ने बताउँदै आएको छ । नेपाल पुनर्बीमा कम्पनी सरकारी लगानीमा सञ्चालित कम्पनी भएकोले बीमा कम्पनीहरुले नियामक निकायको भ्रष्टाचारजन्य निर्णय नमान्ने अडान लिँदै आएका छन् । बीमा समितिका कर्मचारीदेखि उच्च पदस्थ कर्मचारी तथा सञ्चालकहरु समेत जेल जानसक्ने भएकोले तत्कालै बुद्धिमतापूर्वक हिमालयन रिको पक्षमा गरिएको निर्णय फिर्ता लिन बीमा समितिलाई सुझाव दिएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको पत्र बीमा कम्पनीहरुमा पुगेपछि नियामक निकाय बीमा समिति झस्किएको छ । बीमा समितिभित्रै सेटिङ भएको सो निर्णयको वैधानिकता खोजी सुरु भएमा बीमा समितिका धेरै मानिसहरुलाई अप्ठेरो पर्ने भएकोले निकै उकुस मुकुसको अवस्था सिर्जना भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*