अपराधिक घट्नासँग जोडिदै जीवन बीमा, सिंगो बीमा व्यवसाय निरुत्साहित हुने चिन्ता

१४ श्रावण २०७९, शनिबार ०९:३४

काठमाडौं । प्रहरीको अनुसन्धान ब्युरोले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् रिलायन्स लाइफ इन्स्योरेन्सबाट बीमा भुक्तानी लिएको घट्नाले सिंगो बीमा व्यवसाय स्तब्ध बन्न पुगेको छ । जीवन बीमाबाट प्राप्त हुने लाभलाई आपराधिक घट्नासँग जोडिन थालेपछि जीवन बीमा व्यवसायमा गम्भिर आघात पुग्ने जोखिम बढेको छ ।  बीमा बापत प्राप्त हुने रकमको लोभमा योजनाबद्ध अपराधिक घट्ना हुन थालेपछि जीवन बीमा क्षेत्रमा सर्वत्र चिन्ता र चासो बढेको छ । जीवन बीमाबाट प्राप्त हुने लाभलाई अपराधिक प्रवृत्तिसँग जोड्न निरुत्साहित गर्न र जीवन बीमालाई थप सहज, सरल र आम जनताको दैनिकीसँग जोड्न चुनौति थपिने त्रास बढेको छ ।

सामाजिक अपराधका बीमा ठगीको घटनातर्फ बीमा समितिले नै पनि निकै सचेत भई अध्ययन गरिरहेको छ । गलत नियतले गरिएका यस्ता शंकास्पद दाबीलाई आफूहरुले रोक्दै आएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल बताँउछन् । अपराधिक घटना हरेक क्षेत्रमा हुने गर्दछन् । प्रहरीले अनुसन्धान गरिरहेको छ । बीमा समितिले के गर्ने भनेर आवश्यक छलफल गरेर उचित निर्णय गर्ने उनले बताए । खासमा बीमा कम्पनीहरुले अण्डर राइटिङमा कडाइ नगर्दा परिवारकै सदस्यको हत्या गरेर पैसा कमाउने अपराधिक नियत बढ्दै गएको छ । नेपालमा हालसम्म तीन वटा यस्ता घटनाहरु भइसकेका छन् ।

यसअघि पनि यस्ता घटनाहरु भने नभएको भने हैन । बीमा गराएर आफन्तको नै हत्या गर्ने सम्मको अप्रत्यासित रुपमा घटना गराउने प्रवित्ति जीवन बीमा क्षेत्रमा चिन्ताको विषय बनेको छ । तर बीमा अभिकर्ताको संलग्नता भने यति ठूलो रकमको ठगी गर्न योजनाबद्ध अपराध गरिएको भने सम्भवतः यो पहिलो घटना हो ।

सामाजिक अपराधका यस्ता घटनातर्फ बीमा समितिले नै पनि निकै सचेत भई अध्ययन गरिरहेको छ । गलत नियतले गरिएका यस्ता शंकास्पद दाबीलाई आफूहरुले रोक्दै आएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल बताँउछन् ।
कम्पनीमा सबै विवरण आएपछि भुक्तानीको प्रकृया अघि बढाईएको कम्पनीको सिईओ राकेश पोखरेल बताँउछन् । घटना अनुसन्धानको क्रममा रहेको कारण यस बिषयमा अहिले बोल्न नमिल्ने उनको धारणा रहेको छ ।
पछिल्लो घटनाले बीमा कम्पनीहरुले अण्डर राइटिङमा प्रश्न उठिरहेको छ । तर, योजनाबद्ध र नियोजित घटना अण्डरराईटिङबाट समेत ट्रेस हुन कठिन हुने हुँदा बाहिर आलोचनाको लागि भनेजस्तो सजिलो भने छैन ।

प्रहरीको अनुसन्धान ब्युरोले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको हो ।

पक्राउ परेका बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटालाई प्रहरीले सार्वजनिक पनि गरेको छ । त्यस्तै, बीमा गराउने रिलायन्स लाइफका अभिकर्ता खाँको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ । यस घटनामा बीमा अभिकर्ता खाँको समेत संलग्नता देखिएको अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा खाँकै मोटर साइकलसमेत प्रयोग भएको तथ्यले बीमा अभिकर्ता अनुसन्धानको दायरामा आएका हुन् । घटनाको दिन सञ्जीव, मृतक सर्जन, खाँ र मिनीबस चालक टोपबहादुर रानाको कुराकानीसमेत भएको अनुसन्धानबाट खुलेको छ ।

आरती भनिने ललिता सापकोटाले सपना र सञ्जीवबीच भेट गराइदिएको र घटनापछि सपना मल्ललाई अस्ट्रेलिया पठाउने सहमतिसमेत भएको देखिन्छ । सर्जनको दुर्घटनामा मृत्यु भएको कुरासमेत सञ्जीवले नै सपनालाई बताएका थिए । घटनापछि उनी विदेश जाने योजनामै थिइन् । गत साउन ९ गते दिल्ली हुँदै जापान जाने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीआईबी टोलीले पक्राउ गरेको जनाएको छ । सपनाविरुद्ध मृतकसँग विवाह गरी बीमाबाट २ करोड ५० लाख लिएको कसुरविरुद्ध मुद्दा चलाइने भएको छ ।

त्यस्तै स्याङ्जाका सञ्जीवविरुद्ध प्रतिवादी सपना मल्ललाई प्रलोभनमा पारी मृतक सर्जनसँग विवाह गराएको र बीमाबापत ८० लाख रुपैयाँ लिएको कसुरमा मुद्दा चलाइने भएको छ । सबै आपराधिक लाभ हुने गरी सहभागी भएको आधारमा घटनाको मुख्य योजनाकार मल्ललाई नै प्रहरीले मानेको छ ।

त्यस्तै मिनीबस चालक टोपबहादुर भने सपनालाई विदेश लाने एजेन्ट चिनाइदिएको र ठक्करपछि घाइते भएका सर्जनलाई अस्पताल नलगी फरार भएको देखिन्छ । वारदातको समय (राति ११ बजे) उनले बस लिएर जानुपर्ने कुनै स्पष्ट आधारसमेत नदेखिएको पनि सीआईबीले जनाएको छ ।

त्यस्तै दीपक केसीले सपनालाई बीमा रकम भुक्तानी लिन सपनालाई काठमाडौं आउन सघाएको र सपनाले पाएकोमध्ये ८० लाख रुपैयाँ लिएका थिए । उनीविरुद्ध पुरानो कर्तव्य ज्यान मुद्दाका अभियुक्त भगाएकोसमेत अभियोग लागेको छ । ललिता सापकोटाले भने बिहे गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर सपनालाई सञ्जीवसँग चिनजान गराएकी थिइन् । उनी सञ्जीवको प्रेमिकासमेत भएको खुलेको छ । त्यस्तै बीमा अभिकर्ता खाँ पनि घटनामा संलग्न भएको देखिएको सीआईबीले जनाएको छ ।

रौतहटमा छोरीको हत्या
गत असार १६ गते रौतहटका रामकिशोर राय यादवले आफ्नै चार वर्षीया छोरी लक्ष्मी कुमारी यादवको हत्या गरे। हत्या गर्नु भन्दा एक महिना अगाडि उनले प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा २५ लाख रुपैयाँको बीमा गराएका थिए।
लक्ष्मीको शव पोखरीमा भेटिएपछि प्रहरीले हत्या भएको शंका गर्दै छानविन गर्ने क्रममा बीमाको लागि हत्या गरिएको पत्ता लगाए। उनले जेठ १९ गते नियोजित रुपमै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा २५ लाख रुपैयाँ पाउन बीमा गराएका थिए। उनले पहिलो किस्ता बापत कम्पनीमा पौने दुई लाख रुपैयाँ बुझाएका थिए। हत्यारा बाबुले कान्छी छोरीको हत्या गरेर २५ लाख रुपैयाँ पाउने लोभमा यस्तो आपराधिक कार्य गरेको स्वीकार गरिसकेका छन्।
१०÷१२ वर्ष अघि नेपाल लाइफमा गोविन्द आचार्य भन्ने व्यक्तिले श्रीमतीको बीमा गरे। आचार्यले विवाह गरेको केही दिनमै २५ लाख रुपैयाँको बीमा गरिदिए। विवाह गर्ने वित्तीकै श्रीमानले २५ लाख रुपैयाँको बीमा गर्दा श्रीमान प्रति उनको विश्वास झन् बढ्यो। श्रीमतीलाई श्रीमानप्रति कुनै शंका भएन। श्रीमानले दुई पटकसम्म बीमा शुल्क भूक्तानी गरिदिए।

दुई पटकसम्म बीमा शुल्क भूक्तानी गरेपछि श्रीमतीको अस्पतालमा मृत्यु भयो। उनको मृत्युलाई लिएर कसैले पनि शंका गर्ने कुरा भएन। अस्पतालबाट सबै रिपोर्ट लिएर उनले बीमा कम्पनीमा दाबी गरे। शाखालाई ठूलो रकमको दाबी गर्ने अधिकार नभएको हुँदा केन्द्रमा कागजात पठायो। केन्द्रले सबै कागजात पूरा भएको पाएपछि दाबी बमोजिमको रकम दिन चेक तयार पार्यो।

बीमा कम्पनीले दाबी भूक्तानी गर्न नपाउँदै माइती पक्षले मृत्युमा शंका गर्दै प्रहरीमा उजुरी दिए। प्रहरीमा उजुरी परेपछि बीमा कम्पनीले चेक हस्तान्तरण गरेन। उजुरीसँगै प्रहरीले आफ्नो तरिकाले छानविन थाल्यो। छानविन गर्दा श्रीमानले एक वर्षदेखि नियमित रुपमा ब्लड प्रेसरको औषधी पिँधेर खुवाउने गरेको पत्ता लगायो। उसले उक्त औषधी चियामा हालेर ओभर डोज हुने गरी खुवाउने गरेको पाइयो। श्रीमतीले यस्तो औषधी खुवाउने गरेको शंकै गर्न सकिनन्।

औषधी ओभर डोज भएर विरामी हुँदा श्रीमानले नियमित अस्पताल लाने लैजाने गरेकोले कसैले शंका गर्ने मौका पाएनन्। प्रहरीले श्रीमतीको बीमा गरेको थाहा पाएपछि श्रीमानले बीमाको दाबीको लागि केही गरेको हुन सक्ने शंका गर्दै घरको खानतलासी लियो। खानतलास गर्दा भान्सा भित्र सिलौटोमा औषधी पिँधेको प्रहरीले भेट्टाए। यहि प्रमाणलाई अनुसन्धान गर्दै जाँदा श्रीमानले ब्लड प्रेसरको औषधी ओभर डोज दिने गरेको प्रहरीले पत्ता लगायो।

अनुसन्धानपछि श्रीमानले बीमाको लागि मारेको स्वीकार गरे। बीमा पोलिसीमा हकदाबीमा श्रीमानको नाम रहेको हुँदा श्रीमानको नाममा चेक काटिएको थियो। तर हकवाला नै मृत्युको कारक भएपछि कम्पनीले चेक हस्तान्तरण गरेन। श्रीमतीको माइती तथा स्थानीय अगुवाले उक्त पैसा उनको नाममा कोष बनाएर सामाजिक क्षेत्रमा खर्च गर्ने प्रस्ताव पेश गरे। अझै पनि यसको दाबी भएको छैन। यस्तो रकमलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा नयाँ बहस आवश्यक रहेको बीमा समितिको धारणा रहेको छ ।

पोखराको हत्याकाण्ड
पोखराको चिप्लेढुङ्गामा व्यवसाय गर्दै आएका रमेश नेपालीले बीमाबाट रकम पाइने लोभमा श्रीमतीको हत्या गरे। उनले आफ्नी श्रीमती लक्ष्मी नेपालीको सुनियोजित रुपमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा एक करोड रुपैयाँको बीमा गरे।
श्रीमतीको मृत्युपछि बीमा बापतको पैसा आउने लोभमा एक करोड रुपैयाँको बीमा गरेका थिए। कम्पनीले धेरै बीमा शुल्क पाउने लोभमा एकै पटक एक करोड रुपैयाँको बीमा गर्न राजी भयो। यस घटनाले बीमा क्षेत्रमा अण्डर राइटिङको विषयलाई बहसमा ल्याएको छ।

बीमा कम्पनीहरु बीचमा अरुको भन्दा धेरै बीमा शुल्क आर्जन गर्ने होडबाजीमा बीमा गर्न खोज्दा यस्ता समस्या आउने गरेको प्राइम लाइफका पूर्व प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई बताउँछन्। आएको विजेनस किन छोड्ने भनेर बीमा गराउने परिपाटि भएको कारण यस्तो समस्या देखिएको पाईन्छ ।

धेरै बीमा शुल्क संकलन गरे भनेर बजारमा चर्चा बटुल्नलाई मात्रै देखावटी रुपमा बीमा गरियो भने यस्ता खालका घटना बढेर जान्छ। बीमा पोलिसीमा रहेको छिद्रलाई प्रयोग गर्दै नाजायज फाइदा लिने व्यक्तिहरु बढ्दै गएका छन्। बीमाको सिद्धान्त अनुसार बीमा असल नियतका साथ गरिनुपर्ने बीमाविज्ञहरुको धारणा रहेको छ ।

अण्डरराइटिङमा कडाई गर्न सुझाव
अण्डरराइटिङ गर्ने प्रक्रियामा कडाइ भयो भने यस्ता विकृति हटेर जाने पेशागत बीमा अभिकर्ता संघ नन्द प्रसाद तिवारीको रहेको छ । नियोजित रुपमा ठूलो रकमको बीमा गरेर केही समयपछि बीमाबाटै पैसा कमाउने उद्देश्यले हत्या गर्ने अवस्था आउनु हुँदैन । बीमा गर्नुअघि सो ब्यक्तिलाई बीमाको आवश्यकता छ कि छैन भनेर हेरिनुपर्ने उनको भनाई छ ।

हकदाबी गर्ने व्यक्ति र बीमितको सम्बन्धलाई हेरिएन भने पनि आपराधिक गतिविधि बढ्न सक्छ । बीमा बचतसँगै जोखिमबाट सुरक्षाको लागि पनि हो । जोखिमको कभरेज हुने बहानामा आपराधिक गतिविधि रोक्न अण्डराइटिङलाई कडाइ गरिनुपर्ने अध्यक्ष तिवारीको सुझाव छ ।

बीमितभन्दा बीमाको लाभ पाउने व्यक्ति आर्थिक रुपले, शारीरिक रुपले, सामाजिक रुपले, मानसिक रुपले बलियो छ कि कमजोर छ भन्ने पक्षहरु हेरेर अण्डरराइट गर्नुपर्ने हुन्छ । अण्डरराइटिङको गुणस्तर राम्रो भयो भने अथवा बीमाको सिद्धान्त अनुसार भयो भने मात्र आपराधिक घटना हुने संभावना न्यून भएर उनको तर्क रहेको छ ।

कम्पनीहरुले व्यवसाय बढाउँदा बीमाका सर्वमान्य सिद्धान्तलाई पनि सँगसँगै पालना गर्नुपर्छ । पोलिसीमा समस्या नभएपनि बीमा गराउनेको नियतमा समस्या बढेको छ । गलत नियत राखेर अपराधै गरेर फाइदा लिन्छु भन्नेहरुका लागि जतिसुकै कडिकडाउ गरेपनि रोक्न सम्भव छैन तर कडा प्रावधानहरु भएमा निरुत्साहित गर्न सकिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*