पुस मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा निरन्तर, बीमकले कस्ता सुविधाहरु पाउनेछन् ? चार कम्पनीले प्रकृया अघि बढाँउदै

रिना खत्री
१६ श्रावण २०७९, सोमबार १४:४४

काठमाडौं । बीमा समिति मर्जरमा जाने बीमा कम्पनीहरुलाई स्किम दिने भएको छ। बीमा समितिले पुस मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा निरन्तरता दिने भएको छ। यसअघि असारमसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीहरुलाई छुट सुविधा दिने बीमा समितिले निर्देशन दिएको थियो। असारमसान्तसम्मको छुट सुविधा बढाउने तयारी भईरहेको बीमा समितिको स्रोतले जनाएको छ ।

पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने बीमा कम्पनीहरुलाई यसअघि दिइएको सुविधा बीमा समितिले पुन : उपलब्ध गराउने भएको हो । गाभिने वा प्राप्तिमा गई पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्नेलाई मर्जर तथा प्राप्ति सम्बन्धी सुविधा उपलब्ध हुने बीमा समितिले जनाएको छ । मौद्रिक नीति २०७९÷८० मार्फत नेपाल राष्ट्र बैंकले बैंकहरुलाई छुट सुविधाको अवधि बढाईसकेको छ । बीमा समितिको स्रोतका अनुसार हालसम्म १७ बीमा कम्पनीहरुले मर्जर सम्झौता गरिसकेको र बाँकिले पनि मर्जरमा जान इच्छुक देखिएको हुँदा छुट सम्बन्धी व्यवस्था गर्न लागेको हो ।

यद्यपी असार मसान्तपछि मर्जरमा जाने बीमा कम्पनीहरुले कर छुट सुविधा भने पाउने छैनन् । बाँकि अन्य सुविधाहरु भने यथावत् राख्ने तयारीमा निर्देशिका जारी गर्ने तयारी भईरहेको बीमा समितिले जनाएको छ।मर्जर निर्देशिका अनुसार मर्जरमा जाने बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुलाई कुलिङ्ग अवधि लागु नहुने सुविधा नयाँ निर्देशिका अनुसार पाउनेछन् ।

दुई वटा कम्पनी मर्जरमा जादा एउटा कम्पनीको सिइओ कित डिसिइओ हुनु पर्छ होइन भने बाहिरिनु पर्छ । यसरी बाहिरिदा उक्त सिइओलाई अर्को कम्पनीमा जान ६ महिनाको कुलिङ पिरियड लागु हुने नहुने सुविधा पाउनेछन् ।मर्जर तथा प्राप्ति पश्चातको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पहिलो कार्यकाल हुनेछ । उक्त सिइओको दोस्रो कार्यकाल भए पनि मर्जर पछि थप दुई कार्यकाल काम गर्न पाउने व्यवस्था गरिएको छ । उक्त सुविधा पनि पुस मसान्तसम्म जाने कम्पनीहरुले पाउेछन् ।मर्जर तथा प्राप्ति पश्चात समेत पूँजी नपुगेमा पूँजी पुर्याउने अवधि एक वर्ष थप हुनेछ । यदि दुई वटा कम्पनीको मर्ज गर्दा पनि जीवनको हकमा ५ अर्ब र निर्जीवनको हकमा साढे दुई अर्ब पुगेन भने अर्को एक वर्षमा पूँजी पुर्याउने अवधि थप हुनेछ ।

क्रश होल्डिङ्ग हटाउन तथा १५ प्रतिशतको सीमा कायम गर्न २ वर्षको अवधि थप हुनेछ । यदि मर्जर पश्चात एउटा शेयरधनीको सिमा १५ प्रतिशत सिमा नाघ्यो भने तत्काल १५ प्रतिशत भन्दा तल झार्ने झण्झट बेहोर्नु पर्दैन । कम्पनीले २ वर्षको अवधि पाउनेछ । यस्ता सुविधाहरु भने असार देखि पुस मसान्तसम्म मर्जरमा जाने कम्पनीहरुले पाउनेछन् ।

बीमा समितिले सबै बीमा कम्पनीहरुलाई आगामी चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ । जस अन्तर्गत जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जिवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजि वृद्धि गर्न निर्देशन दिईसकेको छ ।

पुँजि वृद्धि नै जोखिम भारको एक बलियो आधार भएको हुँदा यसअघि समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले यस बिषयमा बीमा कम्पनीहरुलाई बारम्बार सम्झाउदै आईरहेका छन् । हालसम्म बीमा समितिले पुँजि वृद्धि तयार नगर्ने कम्पनीहरुलाई केही नगरेको आगामी दिनमा यसमा ध्यान नदिएमा बीमा समिति कडा रुपमा प्रस्तुत हुने समेत बताँउदै आएका छन् । उनले कम्पनीहरुको मर्जरको बिषयलाई सकारात्मक रुपमा लिएका छन् । आगामी बर्ष नेपालमा आवश्यक बीमा कम्पनीहरुको अध्ययन गर्ने तयारी समेत गरिरहेका छन् ।

गत आर्थिक बर्षको मसान्तसम्म अर्थात असार मसान्तसम्म जीवन तथा निर्जीवन गरि १९ बीमा कम्पनीले मर्जर तथा प्राप्तिको बाटो रोजेका हुन्। १९ मध्ये दुईले एकिकृत कारोबार समेत सुचारु गरिसकेको छन् । बाँकिले मर्जरको पारम्भिक सम्झौता गरिसकेका छन् ।

प्राइम, गुराँस र युनियन लाइफबाट सुरु भएको मर्जर तथा प्राप्ति प्रकृया असार मसान्तसम्म आइपुग्दा १९ कम्पनी पुगेका छन ्। जसमा असार ३२ गते मात्रै मर्जर तथा प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका प्रभु र अजोड इन्स्योरेन्स कम्पनी पनि रहेका छन्।

मर्जर तथा प्राप्तिमा जाने १९ कम्पनीमा ९ वटा कम्पनी जीवन बीमा रहेका छन् भने बाँकी निर्जीवन रहेका छन् । मर्जर तथा प्राप्तीमा जाने जीवन बीमा कम्पनीमा प्राइम, गुराँस, युनियन, सानिमा, रिलायन्स, सुर्य र ज्योति लाइफ, प्रभु र महालक्ष्मी लाइफ रहेका छन् भने निर्जीवनमा सगरमाथा, लुम्बिनी जेनरल, एभरेष्ट, हिमालयन जेनेरल, प्रिमियर, सिद्दार्थ, सानिमा जेनेरल, जेनेरल, प्रभु र अजोड़ इन्स्योरेन्स रहेका छन्।

जसमा प्राइम, गुराँस र युनियन मिलेर नयाँ कम्पनी बन्नेछ ।सानिमा र रिलायन्सले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् । त्यस्तै सुर्य र ज्योति लाइफले तथा प्रभु र महालक्ष्मी लाइफ पनि एक आपसमा मर्जर तथा प्राप्तीमा जाने सम्झौता गरेका छन्।

त्यस्तै, निर्जिवन तर्फ सगरमाथा र लुम्बिनी जनरल, प्रिमियर र सिद्दार्थ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स, प्रभु र अजोड़ इन्स्योरेन्सबीच एक आपसमा मर्जर तथा प्राप्तीमा जाने सम्झौता भएको छ। हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको मर्जर सम्पन्न भइसकेको छ ।

बाँकि नेपाल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, पु्रडेन्यिसल इन्स्योेरेन्स, युनाईटेड इन्स्योरेन्स कम्पनीले मर्जर सम्बन्धी छलफल गरिरहेका छन् । असार मसान्तसकिएपनि बीमा समितिको पुँजिवृद्धिको निर्देशिका अनुसार मर्जरको लागि दिनँहु जस्तो भोटवार्ता भईरहेका छन् । कम्पनीको नाम र स्वाप रोसियोमा बिषयमा कुरा नमिल्दा अन्तिम निर्णय भने हुन सकेको छैन । यी कम्पनीहरुलाई बीमा समितिको यो स्किमले सहयोग पुग्ने देखिन्छ ।

यस्तो व्यवस्था गत आर्थिक वर्षको असार मसान्तसम्म मात्र भनिएपनि मर्जर आकर्षणका लागि पुस मसान्तसम्म जारी राख्ने निर्णय गरिएको बीमा समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*