जीवन बीमामा ग्रहण लगाउने प्रयासका विरुद्धमा सबै एकजुट होऔं, अपराधीलाई कारवाही र पीडितलाई न्याय दिऔं

राजु साह
१६ श्रावण २०७९, सोमबार १७:५८

“जीवन अमुल्य छ” यो हरफ बीमा बजारको लागि महत्वपुर्ण हो । अमुल्य जीवनको निरन्तता र आश्रित परिवारलाई बीमा सहारा भन्ने चलन पनि छ । त्यसैले पनि मानिस यी महत्व बुझेर नै बीमा गराउँछन । भोलि भैपरी आएको खण्डमा बीमाले क्षतिपूति बापत दावी भुक्तानी दिएर आश्रित परिवारको सहयात्री बन्दै आएको छ बन्नेछ ।

तर, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका बीमित स्व. सर्जन बिकको दावी भुक्तानी प्रकृया सिंगो बीमा बजार र यसको भविष्य माथि ग्रहण लगाइदिएको छ । समग्र राज्य संयन्त्रलाई झुक्याएर दुई करोड ५० लाख रुपैयाँ बीमा दावी भुक्तानी लिने समुहका कारण अगामी दिनमा बीमाको दावी प्रकृया अझै जटिल र प्रक्रियागत हुने दिशातर्फ अघि बढिरहेको छ । छिटो, छरितो र व्यवस्थित बनाउन बीमा समितिलाई थप भार परेको छ ।

दशैभरिका बीमा अभिकर्ताहरु गुणस्तरहिन भन्ने सन्देश प्रवाह हुनु र गराइनु दुखद मात्रै छैन पाँच लाख बीमा अभिकर्ताको भाग खोसेर अनलाईनमार्फत बीमा गराउन चाहने कुतत्वहरुको समेत चलखेल अहिले बढिरहेको छ । साढे दुई करोडको दावी भुक्तानीका लागि सर्जन बिकको हत्या काण्ड, हत्या गर्नुपूर्व अभियुक्तहरुले गरेको कानुनी प्रक्रियाले अपराधीहरु कुन तहसम्म पुगेर अपराध गर्न सक्दारहेछन् भन्ने तथ्य उजागर गरेको छ । यसले बीमा उद्योगमा सचेतना बढाएको पक्कै छ । तर, जसरी यो एउटा प्रतिनिधि घटनालाई कारण देखाएर बीमा अभिकर्ता, बीमा व्यवसाय र बीमा कम्पनीका कर्मचारीहरुको घाँटी रेट्ने काम गर्दैछन्, त्यसले बीमा क्षेत्रको दीगो विकास र आम जनताको घर घरमा बीमा पुग्न असम्भव प्रायः छ । हो, बीमा अभिकर्ता आफै संलग्न भएका छन् । उनी दोषी हुन्, उनलाई कारवाही हुनुपर्दछ । त्यसो भन्दैमा सबै बीमा अभिकर्ताहरुलाई अपराधिकरण गर्ने प्रयास हुनु बीमाको विकासको लागि दुर्भाग्यपूर्ण छ ।

सर्जन बिकको हत्या प्रकरण समाजमा घट्ने अपराधको एउटा नमुना हो । दुःखद यस कारण हो कि बीमा क्षेत्रमा पनि यस्ता कुराहरु छिर्न थाले यसलाई न्यूनिकरण गर्नुपर्दछ । न्यूनिकरणको अर्थ यो होइन कि सिंगो बीमा क्षेत्रलाई नै बन्द गरिदिने । जीवन बीमा गर्न बन्द गरेर नेपाली समाजमा मानिसको हत्या वा मृत्यु रोकिन्छ ? तर पनि बीमाबाट लाभ लिन व्यक्ति हत्या हुनु दुर्भाग्यपूर्ण छ । यसमा संलग्नहरु सबैलाई अझै अरु कोही बाँकी छन् भने अनुसन्धानको दायरा फराकिलो पारेर सबैलाई कानुनी प्रक्रियामा ल्याउनु पर्दछ ।

राजु साह

दावी प्रकृया अनुसन्धानको कारण ढिलाई हुदै गर्दा के वास्तवमा वास्तिविक आश्रित परिवारको सहयात्री बीमा बन्न सक्छ ? यो अर्को प्रश्न बीमा बजार माथि उव्जिएको छ । स्व.सर्जन बिकको आमाबुबा वास्तविक दावी भुक्तानीको हकदार हुन । बुढेसकालको सहयात्रीको रुपमा सन्तानलाई मान्दै आएको नेपाली समाजमा दावी भुक्तानीको रकम स्व.बिकको आमाबुवाले पाउनुपर्ने हो, तर अब दावी भुक्तानीबापत उनले बुझेको रकम फिर्ता हुनुपर्ने आवाज उठ्न थालेको छ । जुन बीमा जगतको लागि दुःखको कुरा हो ।

अभियुक्त सपना मल्ल तथा सञ्जिव अर्यालको समुहबाट दावी वापतको रकम बुझिलिई स्व.बिकको आमाबुवालाई पाउने व्यवस्था आजको आवश्यकता हो । यसो गर्दा वास्तविक आश्रित परिवारको साहारा मुल संदेश प्रवाह हुनेछ । सर्जन बिकको परिवारले एक कमाई गर्ने परिवारका सदस्य गुमाएको कुरा साँचो हो । त्यसैले उनमा आश्रित परिवारलाई क्षतिपूर्ति राहत आवश्यक पर्दछ । यसतर्फ आजको बहस केन्द्रीत हुनुपर्दछ ।

राज्य संयन्त्रको नियन्त्रणमा कानुन भएकोले ठगी दावी भन्दै दुई करोड ५० लाख रुपैयाँ कम्पनीकै खातामा फर्काउने कानुन व्यवसायीको तर्र्क छ । यदि वास्तविक आश्रित परिवार अर्थात आमा–बुबाले यो रकम नपाए बीमा माथि ठुलो प्रश्न चिन्ह खडा हुनेछ । त्यसैले कम्पनीको खातामा फर्काएर फेरि वास्तविक पीडितलाई दावी भुक्तानी गर्न तथा गराउन बीमा समिति र बीमा कम्पनी चुक्नु हुँदैन । बीमाको दीगो विकास र मृतक सर्जन बिकको न्यायको लागि समेत यो सबैभन्दा उत्तम उपाय हुनसक्दछ ।

स्व.बिक र उनका परिवारले दुई करोड ५० लाख रुपैया दावी गर्ने आर्थिक हैसियत राख्दछन् वा छैनन्, यो अनुसन्धान बीमा पोलिसी जारी गर्नुअघि बीमा कम्पनीका अण्डरराईटिङ गर्ने कर्मचारीले जाँच गर्नुपर्ने थियो । वार्षिक आयको अधिकतम ४० प्रतिशतसम्म मात्र बीमा गर्न सक्ने नियम छ । तर राज्यसंयन्त्र, अभिकर्ता, अण्डराइटिङ पास गराउने निकाय, बीमा समिति र पुर्नबीमा कम्पनी सबैको प्रत्यक्ष अप्रत्यक्षको सहभागितामा बीमा जारी देखी दावी भुक्तानीमा प्रकृयामा सम्पन्न भयो । यी सबै जना दोषको हकदार छन् ।

अहिले बीमा समितिले बीमा अभिकर्ताको लाइसेन्सको लागि परिक्षा लिने कुरा गरेको समेत सुनियो । बीमा अभिकर्तालाई आजसम्म एउटा तालिम नदिएको बीमा समितिले परिक्षा सञ्चालन गर्न सक्छ भनेर पत्याउन सकिने दरिलो आधार देखिदैन । बीमा समितिका कर्मचारीहरुलाई तारे होटलमा लगेर भोज खुवाउने बीमा समितिले बीमा अभिकर्ताहरुको लागि आजसम्म खासै केही गरेको छैन ।

अभिकर्तालाई समय समय अभिप्रेरणा र उत्प्रेरणा र तालिम त नदिने बीमा समितिबाट यस्ता कुराको आशा गर्नु नै अर्थहिन हुन जान्छ । यस्तो अपराध रोक्न समय समयमा बीमा समितिले बीमा अभिकर्ता र बीमा कम्पनीका कार्यकर्ताहरुलाई समय समयमा तालिम दिने गरेको खण्डमा सर्जन बिकले ज्यान गुमाउने घटना मात्रै नभएर बीमा क्षेत्रका धेरै प्रकारका विकृतिहरु हटेर जानेछ । वास्तविक आश्रित परिवारलाई दावी दिने, अभिकर्तालाई अण्डराइटिङ लगायत कडा प्रशिक्षण र लाइसेन्स वितरण गरी दक्ष जनशक्ति बनाउने र नेपाली बीमा बजारलाई मार्गनिर्देशन आजको आवश्यकता हो ।

एकाध घटनाबारे जीवन बीमा क्षेत्रलाई बद्नाम गराउने, जीवन बीमा नै गलत भन्दै दुष्प्रचार गर्ने सबै प्रकारका प्रयत्नहरुले जीवन बीमाको हितमा छैनन् । अपराध सबै ठाउँमा हुन्छन् । त्यसो भनेर अपराधलाई संरक्षण गर्न खोजिएको होइन, बीमाजस्तो संवेदनशिल क्षेत्रमा अपराध नियन्त्रण गर्ने नाममा सिंगो बीमा व्यवसायलाई धरासायी बनाउने दुष्प्रयासहरुका विरुद्ध बीमा समिति, बीमा कम्पनीहरु, बीमा अभिकर्ता र बीमा क्षेत्रका विज्ञहरुले भूमिका खेल्नुपर्ने समय आएकोतर्फ सबैको ध्यान जानु आवश्यक छ ।

पर्सा जिल्लाका खल्वाटोला श्रीसियाका साह आठ वर्ष पत्रकारिता गरे पश्चात विगत छ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय बीमा अभियान्ता हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*