सर्जन बिक घटनालाई उचालेर सिद्धान्त र सिष्टममा प्ले गर्ने प्रयास, अण्डरराईटिङका दोषी खोज्न किन ढिलाई ?

रिना खत्री
१७ श्रावण २०७९, मंगलवार १५:५१

काठमाडौं । नेपाल प्रहरीको सिआईबीले सुक्ष्म अनुसन्धानको क्रममा पत्ता लगाएको साढे दुई करोड रुपैयाँको बीमा दावी भुक्तानी लिनको लागि सर्जन बिकको हत्या गरिएको विषयलाई प्रधानतासाथ उचालेर बीमा जगतको सिद्धान्त र सिष्टममा प्ले गर्ने प्रयत्नहरु हुन थालेका छन् ।

यद्यपि बीमा समितिले संलग्न कम्पनीका कर्मचारी तथा अधिकृतहरुलाई छानविन गर्ने बाहेक अन्य कुनै थप निर्णयहरु गरिसकेको छैन । तर, सर्जन बिक हत्याकाण्डपछि एउटा समुह बीमा अभिकर्ताहरु भनेका हत्याराहरु नै हुन् भन्दै बीमा अभिकर्ताविरुद्धमा मोर्चाबन्दी गरिरहेको छ भने अर्का केही समुहले जीवन बीमा कम्पनीका अण्डरराईटिङमा काम गर्ने कर्मचारीहरुले कामै नगरी तलव खाइरहेको र उनीहरु मूर्ति झै हुन्, सबैलाई कारवाही गनुपर्दछ भन्ने कोणबाट समेत हेर्न थालिएको छ । उल्लेखित कुराहरु सर्जन बिक प्रकरणलाई उचालेर जीवन बीमा सिद्धान्त र सिष्टममा प्ले गर्ने प्रयत्नहरु सुरु भएका छन् ।

सतही विश्लेषण, बीमा क्षेत्रमा दीगो बीमाको अवधारणा, बीमामा आम जनताको पहुँच र बीमाले पुगेको फाइदाको नजरअन्दाज गर्दै सिष्टममा प्ले गर्ने प्रयास हुनु समग्र बीमा जगतकै लागि दुर्भाग्यपूर्ण छ ।बीमा जस्तो संवेदनशील विषयमा नियामक निकायले समेत हतार नगरी विस्तृत र बहुआयामिक प्रभावबारे अध्ययन गरेर मात्रै नीति बनाउनुपर्ने र निर्देशन दिनुपर्ने सुझाव विज्ञहरुको छ।बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईले सर्जन बिक घट्नामा बीमा कम्पनीले अण्डरराईटिङ नै नगरेको देखिएको बताउँदै यसअघिको रौतहट र पोखरा घटनाबाट नेपाली बीमा कम्पनीका अण्डराईटिङ कर्मचारीहरुले पाठ सिक्न नसकेको बताए ।

पूर्व अध्यक्ष चाँपागाईले बीमा कम्पनीहरुको अण्डरराईटिङ बलियो बनाउन बीमा समिति र बीमा कम्पनीहरुले जोडदिनुपर्ने उनको सुझाव थियो । उनले भने, ‘कमिशन पाउने भएकोले जस्तोसुकै बीमाहरु बीमा कम्पनीमा आउनसक्ने भएकोले सबै कम्पनीहरुले सचेततापूर्वक अण्डराईटिङ गराएर मात्रै बीमा ग्रहण गर्नुपर्नेपर्छ । आउने वित्तिकै बीमा लिने संस्कार बसेकोले यसलाई सबै मिलेर हटाउनुपर्दछ ।’
सर्जन बिक घटनामा सबै बीमा अभिकर्ताहरुलाई एकीकृत रुपमा मुछ्ने प्रयत्न भइरहेकोप्रति बीमा अभिकर्ताले चासो र चिन्ता व्यक्त गरेका छन् । घटनामा संलग्न बीमा अभिकर्ताहरुलाई कडा भन्दा कडा कारवाही गरेर गलत काम गर्ने अभिकर्ताहरु जेल जान पनि सक्छन् भन्ने सन्देश दिनुपर्ने बीमा अभिकर्ताहरुको सुझाव छ । त्यस्तै बीमा कम्पनीका अण्डराईटिङ कर्मचारीहरुले पनि आफ्नो दायित्व पूरा नगर्ने एउटा व्यक्तिका कारण सिंगो बीमाका अण्डरराईटिङ कर्मचारीहरुमाथि आरोप लगाउनु अन्यायपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।

एक जीवन बीमा कम्पनीमा अण्डरराईटिङमा कार्यरत कर्मचारीले भने, ‘हामीले ५० लाख भन्दा माथिका बीमाङ्कको बीमा लिँदा सम्बन्धित बीमितको घरैमा पुगेर आर्थिक अवस्था अध्ययन गरेर मात्रै बीमा पोलिसी जारी गर्छौ हामीले नराम्रो मात्रै काम गरे जसरी मिडियाबाजी हुनु दुर्भाग्यपूर्ण छ ।’

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा सर्जन बिकको अण्डरराईटिङ कसले गरेको हो भनेर विस्तृत अध्ययन गर्ने निर्णय बीमा समितिले गरिसकेको छ । अब बीमा समितिले गरेको अध्ययनबाट नै अण्डरराईटिङमा के भएको थियो भन्ने कुराको तथ्य बाहिर आउने र दोषी देखिए कारवाही हुने हुँदा समग्र बीमा क्षेत्रलाई प्रभावित पार्ने गरी निर्णय गर्न नहुने जीवन बीमक संघका एक जिम्मेवारी पदाधिकारीको सुझाव छ।

‘अण्डरराईटिङ नभएको कुरा सत्य हो, कसरी यस्तो भयो यसको विस्तृत अध्ययन गर्नुपर्दछ । अण्डरराईटिङ मात्रै नभएको होइन, अपराधीहरुले जिल्ला अदालत बाँकेमा पुगेर विवाह दर्ता समेत गराएका थिए ।
विवाह गर्दा गराउँदा न्यायाधिशले अलिकति सोधखोज गरिदिएको भएपनि सर्जन बिकको ज्यान जोगिन सक्थ्यो, त्यहाँ पनि राज्य चुक्यो यो एउटा बीमाको कुरा मात्रै होइन, समग्र सिष्टमलाई प्याराजाईज्ड गरिएको छ’ एक जीवन बीमा कम्पनीका सिईओले भने, ‘आज रिलायन्स लाइफलाई परेको छ, भोलि अर्को कम्पनीलाई यस्तै पर्न सक्छ, त्यसैले यस्तो कार्य रोक्न सबैले सामूहिक प्रयत्न गर्नुपर्दछ ।’
अर्का एक जीवन बीमा कम्पनीको सिईओले भने, ‘अदालतमा पुगेर झुक्याएर न्यायाधिशलाई झुक्याएर विवाह गर्ता गर्नेले बीमा कम्पनीलाई हाईप्रोफाइल देखाउन अनेकन उपाय गरेनन् भनेर भन्न सकिदैन, यो कुरा अध्ययनपछि मात्रै पत्ता लाग्छ’ यस्ता कुराहरु सामूहिक रुपमा छलफल गरेर उपयुक्त ट्रयाकिङ विधि निकाल्नुपर्दछ ।’

अर्का एक बीमा कम्पनीका सिईओले जीवन बीमा कम्पनीहरुलाई प्रिमियममा प्रतिस्पर्धा गराउँदा यस्तो समस्या आएको र अहिलेको अवस्था नरोकिने बताउँदै प्रिमियममा प्रतिस्पर्धा गराउने परिपाटी अन्त्य भई दीगो बीमा व्यवसायमा प्रतिस्पर्धा गराउनुपर्ने बताए । ति सिईओले भने, ‘प्रत्येक महिना बीमा शुल्क आम्दानी यसको बढि र घटि भन्दै प्रतिस्पर्धा गराइन्छ, मिडियामा त्यही कन्टेन्ट आउछ, बीमा कम्पनीको केन्द्रीय कार्यालयदेखि शाखा कार्यालय र अभिकर्तासम्म मेरो कम्पनीलाई प्रिमियममा पहिलो बनाउँछु भन्ने भावना विकास हुँदाको दुष्परिणामको रुपमा यसलाई बुझौं र सबै जना अब सुध्रौं ।’

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा गुणात्मक भन्दा संख्यात्मकमा ध्यान दिन यस्तो समस्या आएको बताउँदै बीमा कम्पनीहरुले व्यवसाय विस्तारसँगै गुणस्तरीय बीमा सेवामा ध्यानदिनुपर्ने बताए ।बीमा कम्पनीभित्र संस्थागत सुशासन कायम नहुँदा अण्डरराईटिङ कमजोर भएकोले आगामी दिनमा बीमा शुल्कलाई मात्रै आधार नमानी बीमा कम्पनीको समग्र सूचांकको आधारमा मुल्याङ्कन गरिने बीमा पोष्टलाई बताए ।

बीमा क्षेत्रमा भएका ठगी प्रकरणमा बीमा पोलिसीको सङख्या मात्रै बढाउने काम जीवन बीमा कम्पनीहरुमा भएको कारण यसलाई कसरी रोक्न सकिन्छ भन्ने बिषयमा छलफल भईरहेको उनले बताए ।सङख्यात्मक बीमा पोलिसी घटाउदा आधा भन्दा बढी बीमा प्रिमियम घट्ने देखिन्छ । एक बर्ष बीमा पोलिसी घटेपनि बीमा ठगी प्रकरण रोकिन्छ भने किन नगर्ने भन्ने बिषयमा छलफल भईरहेको र त्यसै अनुरुप आगामी दिनमा बीमा कम्पनीहरुलाई नियमन गर्ने तयारी भईरहेको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*