सर्जन बिक प्रकरणमा बाँके प्रहरीको गम्भिर त्रुटी, रिलायन्स लाइफले घट्ना शंकास्पद रहेको भन्दै पत्र पठाउँदा समेत अनुसन्धान गरिएन

रिना खत्री
२० श्रावण २०७९, शुक्रबार १२:०५

काठमाडौं । बीमा दावी भुक्तानी लिने उद्देश्यले नेपालका अदालतदेखि प्रशासनसम्म र बीमा कम्पनीलाई झुक्याएर अपराधीहरुको समुहले बीमा दावी भुक्तानी लिनुमा बाँके जिल्ला प्रहरी कार्यालयको गम्भिर त्रुटी देखिएको छ ।

तत्कालिन बाँके जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा रहेको बाँके प्रहरीले सर्जन बिक हत्याकाण्ड प्रकरणमा छानविन नै नगरी पीडितको निधन सवारी दुर्घटनामै भएको ठहर गर्दै बीमा दावी भुक्तानीको लागि पत्र लेखेको खुलेको छ ।

जीवन बीमा गरेको चार महिनामै बीमितको सवारी दुर्घटनामा मृत्यु भएको, बीमितको आम्दानी क्षमता समेत बीमा गरिएजस्तो नदेखिएको, बीमा पोलिसी खरिद गर्दा योजनाबद्ध रुपमा पोलिसी खरिद गरिएको लगायतका कारणले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले घटनालाई उच्च संवेदनशिल भन्दै शंकाको घेरामा राखेको थियो । बीमा कम्पनीले बीमित सर्जन बिकको मृत्युलाई हरेक कोणबाट शंकास्पद देखिएपछि बाँके जिल्ला प्रहरी कार्यालयलाई लिखित रुपमा नै पत्र लेखेर सर्जन बिकको मृत्यु शंकास्पद रहेकोले छानविन गर्न माग गरेको थियो । प्रहरीले घटनाको सम्बन्धमा छानविन प्रक्रिया अघि बढाउन खोज्दा अपराधीको समुहले स्थानीय तहका नेपाली कांग्रेसका नेतालाई भनसुन गर्न लगाएर बीमा कम्पनीले दावी भुक्तानी नदिने उद्देश्यले प्रहरीलाई पत्र लेखेको भन्दै जिल्लाका एसपी अधिकारीमार्फत घटनामा कुनै कर्तव्य नभएको र सवारी दुर्घटनामा नै सर्जन बिकको मृत्यु भएको पत्र प्रहरीले नै लेखेको खुलेकोे छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रहरीलाई पत्र पठाउने वित्तिकै अपराधीहरुले राजनीतिक पहुँचको प्रयोग गर्दै प्रहरी प्रमुख अधिकारीलाई प्रभावमा पारेर सर्जन बिकको मृत्यु सवारी दुर्घटनाकै कारण भएको व्यहोराका पत्र ७ दिन भित्रैमा लेख्न लगाई रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा पठाएका थिए । बीमा कम्पनीले बिकको मृत्यु शंकास्पद रहेकोले दावी भुक्तानी नदिन खोजेपनि चौतर्फी दवाव सिर्जना गरेर अभियुक्तहरुले लिएको तथ्य फेला परेको छ ।

बीमा समितिले समेत ३५ दिनभित्रैमा दावी भुक्तानी दिनुपर्ने भन्ने कडा निर्देशन, प्रहरी स्वयम्ले बीमितको मृत्यु सवारी दुर्घटनामै भएकोले थप अनुसन्धान नगर्ने भन्नै किटानी प्रतिवेदन आदिले बीमा कम्पनीलाई बीमा दावी भुक्तानी दिनैपर्ने अवस्थामा पुर्याएको देखिएको छ । जसका कारण कम्पनीले काठमाडौंको एक होटलमा कार्यक्रम आयोजना गरी बीमा दावी भुक्तानी हस्तान्तरण गरेको थियो ।

हाल बीमा समितिले छानविन गरिरहेको र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी) ले समेत अनुसन्धान गरिरहेको सो प्रकरणमा नेपाल प्रहरीकै बाँके प्रहरी कार्यालयकै समेत कमजोरी रहेको तथ्य उजागर गरेको हो । सर्जन बिक प्रकरण कुनै पक्षले मृत्यु शंकास्पद रहेकोले छानविन गर्न माग गर्दा समेत नियोजित हत्यालाई सवारी दुर्घटना मानेर प्रतिवेदन दिने प्रहरीतर्फ पनि सोझिने भएको छ । घटनाको सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईवीले थप अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*