एकीकृत निर्देशिका जारी गर्ने तयारीमा बीमा समिति, छलफल तीव्र

२१ श्रावण २०७९, शनिबार १७:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले झै बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि एकिकृत निर्देशिका जारी गर्ने भएको छ । त्यसको लागि बीमा समितिले सबै बीमा कम्पनीहरुसँग छलफल सुरु गरेको छ ।

बीमा क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनको लागि एकीकृत निर्देशिका जारी गर्न लागेको हो । समितिका प्रबक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले एकीकृत निर्देशिका लागू गर्न लागिएको बताए ।

बीमा कम्पनीहरुसँग छलफल तीव्र पारेको जनाएको छ । समितिले अघिल्लो साता सुझाव पेश गर्न आगामी आईतबारसम्म सबै कम्पनीहरुलाई पत्र पठाएको थियो । तर कसैले पनि सुझाव नदिएपछि समितिले बीमा कम्पनीहरुलाई आज प्रत्यक्ष छलफलमा बोलाएको हो ।

आज भएको छलफलमा प्राप्त सुझावमा अधिकांश कम्पनीहरुले लगानीमा लाग्ने करको कुरालाई बढी चासोका साथ उठाएका छन् । बीमा कम्पनीहरु उत्पादनमूलक क्षेत्रमा भन्दा पनि बैंकका मुद्दती निक्षेपमा पैसा राखेर आम्दानी गर्न बढी केन्द्रीय भएको गुनासो आएपछि लगानी विविधिकरण गर्न निर्देशिका संशोधन गर्न लागिएको हो ।

संशोधित निर्देशिकामा मुलुकको आयात कम गर्ने, निर्यात तथा रोजगारी सिर्जनामा योगदान पुग्ने लगानीयोग्य क्षेत्रमा लगानी गर्न कम्पनीहरुलाई बाटो खोल्ने तयारी गरिएको छ । कार्यकारी निर्देशक पौडेलले कम्पनीहरुसहित सरोकारवाला सबै पक्षसँग छलफल गरेर र सुझाव लिएर निर्देशिकालाई अन्तिम रुप दिने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*