लघुबीमाको लाईसेन्सको लागि बीमा समितिमा सात कम्पनीको आवेदन, अन्तिम समयमा आवेदन दिने क्रम बढ्दै

११ आश्विन २०७९, मंगलवार १५:५४

काठमाडौैं । बीमा समितिमा लघुबीमाको लाईसेन्सको लागि सात कम्पनीले आवेदन दिएका छन् । यसअघि कुनै पनि कम्पनीहरुले आवेदन दिएका थिएन् । झण्डै एक महिनासम्म पनि लघुबीमामा आवेदन दिन नआएपछि समय थप गर्ने कि भन्ने सोच समितिले बनाएको थियो ।

दुई दिन समय बाँकि रह्दा आवेदन आउन थालिसकेपछि समय थप नगर्ने तरखरमा पुगेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताँउछन् । दुई दिन अझै बाँकि नै छ, जति आवेदन आँउछ त्यसैलाई नै आधार बनाएर असोज १३ गते सम्म मात्रै आवेदन खुल्ला गर्ने उनले जानकारी दिए ।

लघुबीमाको लाईसेन्सको लागि न्यो लाईट (जनरल) इन्स्योरेन्स कम्पनी लिमिटेड, स्वदेशी लघु जीवन बीमा कम्पनी लिमिटेड, जानकी जीवन लघु बीमा कम्पनी लिमिटेड, नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्रारडेन माईक्रो लाइफ इन्स्योरेन्स र एभरेष्ट माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले बीमा समितिमा आवेदन दिएका थिए । न्यून आय भएका व्यक्तिलाई पनि बीमाको दायरामा समेट्न सरकारले लघु बीमा ल्याएको हो ।

लघुबीमा प्रति निर्जीवन बीमा कम्पनीहरूको आकर्षण नदेखिएपछि सरकारले लघुबीमाको सीमा नै तोकिदिएको थियो । तर पनि लघुबीमाको पहुँच नबढेको भन्दै सरकारले नै लघुबीमा ल्याउने बाटो खुल्ला गरिदिएको थियो ।

समितिको साउन ३१ गते बसेको संचालक समितिको बैठकले लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेसँगै समितिलाई लघु बीमा व्यवसाय गर्ने कम्पनीलाई लाईसेन्स दिने बाटो खुलेको हो। सोहि अनुसार समितिले आवेदन आह्वान गरेको हो ।

बीमा समितिको निर्देशिका अनुसार लघुबीमा कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता हुनु पर्नेछ। चुक्ता पुंजी समितिले तोके बमोजिम हुने उल्लेख छ। संथापकले कम्तिमा ५१ प्रतिशत शेयर धारण गर्नु पर्ने उल्लेख छ । ३० प्रतिशत शेयर आईपिओ मार्फत सर्वसाधारणलाई निष्काशन गर्नु पर्ने छ। ५ प्रतिशत शेयर कर्मचारीलाई दिन सकिने छ ।

त्यस्तै लगानीकर्ता संगठित संस्था भएमा सोको पूँजी वा जगेडा कोषमा लगानीयोग्य रकम भएको हुनुपर्ने उल्लेख छ । निर्देशिका अनुसार संस्थापकका एकाघर परिवार, संस्था वा संस्थागत समूहको कुल चुक्ता पूँजीको पन्ध्र प्रतिशत वा सोभन्दा कम शेयर स्वामित्व हुनु पर्नेछ । प्रस्तावित बीमकको संस्थापक वा सञ्चालक निजको एकाघर परिवारका कुनै सदस्य सोही प्रकारका अन्य बीमकको सञ्चालक वा आधारभूत शेयरधनी भएको हुनु नहुने ब्यबस्था निर्देशिकामा छ।

बीमा समितिले लघु बीमा कम्पनीको लाईसेन्स बितरण गर्नको लागि प्रस्ताव आह्वान गरेको हो। समितिले तीन वटा जीवन र चार वटा निर्जीवन गरि बढीमा सातवटा लघुबीमा स्थापना गर्न लाईसेन्स दिने जनाएको हो ।यस अघि आवेदन दिएकाहरुको आवेदन भने बीमा समितिले रद्द गरेको छ । उनीहरुले चाहेमा फेरी आवेदन दिन सक्ने समितिले जनाएको छ ।

समितिले सूचना प्रकाशन भएको ३५ दिन भित्र आवेदन दिई सक्न आग्रह गरेको छ । चुक्ता पुँजी प्रस्ताव गर्दा ७५ करोड भन्द कम नहुने गरि प्रस्ताव गर्नु पर्ने छ । अझै दुई दिन लघुबीमाको लाईसेन्सको आवेदन दिने समय रहेको छ । असोज १३ गते दिँउसो १२ बजेसम्म आवेदकले बीमा समितिमा आवेदन दिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*