तिहारपछि लघुबीमाको लाईसेन्सबारे प्रकृया अघि बढाउने बीमा समितिको तयारी

२७ आश्विन २०७९, बिहीबार १२:४४

काठमाडौं । बीमा समितिले तिहारपछि लघुबीमाको लाईसेन्सबारे प्रकृया अघि बढाउने बीमा समितिको तयारी गरेको छ । तिहार पछि मात्रै लघुबीमाको लाईसेन्सको प्रकृया अघि बढाउने तयारी भईरहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलबाल बताँउछन् ।

उनले ३१ कम्पनीहरुको आवेदन आएको छनोट, मूल्यांकन र अन्य प्रकृया लाग्ने हुँदा तिहार अघि नै लाइसेन्स उपलब्ध गराउन नसक्ने बताएका हुन् । समितिले ७ वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिने गरी आवेदन खोलेको थियो। जसमा ३१ वटा कम्पनीहरुले लघु बीमाको लाइसेन्सका लागि आवेदन दिएका छन्।

बीमा समितिले जीवन लघु बीमा कम्पनीको लागि ३ वटा र निर्जीवनका लागि चारवटा लाइसेन्स दिने गरी आवेदन माग गरेको थियो। समितिमा १५ वटा जीवन लघु र १६ वटा निर्जीवन लघु बीमा कम्पनीको लागि आवेदन परेको छ।

समितिले मागेको भन्दा तीन गुणा बढी आवेदन परेको छ। समितिका अनुसार एउटै कम्पनीले जीवन र निर्जीवन लघु बीमा कम्पनीको लागि आवेदन दिएका छन्।

’कम्पनीहरुबाट प्राप्त कागजातको मूल्यांकन गर्न समय लाग्छ। केही दिनमा मूल्यांकन गर्न नयाँ टोली बन्नेछ। टोलीले आवेदन परेका ३१ वटा कम्पनीहरुकै मूल्यांकन गर्छ। यसका लागि बोर्डले स्वीकृति दिइसकेको छ,’ उनले भने।

समितिबाट तयार हुने मूल्यांकनका आधारमा उच्चतम अंक प्राप्त गर्ने कम्पनीलाई लघु बीमाको लाइसेन्स दिइने सिलवालले बताए। अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले नै लाइसेन्सका लागि आवेदन दिएका छन्।

लघु बीमा कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ हुनुपर्ने निर्देशिकामा उल्लेख छ। बैंक, माइक्रो फाइनान्स जसको आवेदन परेपनि मूल्यांकन हुने र समितिको निर्देशिकाको आधारमा लाइसेन्स दिने सिलवालको भनाइ छ।

सरकारले न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पु¥याएर बीमाको विकास र विस्तारका लागि नयाँ लघु बीमा कम्पनीको लाइसेन्स दिन लागेको हो। यसअघि लघु बीमाको काम बीमा समितबाट स्वीकृति प्राप्त निर्जीवन बीमा कम्पनीले गर्दै आएका थिए।

बीमा कम्पनीहरु लक्षित वर्गसम्म पुग्न नसकेको भन्दै छुट्टै लघु बीमा कम्पनी स्थापना गर्न लागिएको समितिले जनाएको छ। लघु बीमा विभिन्न क्षेत्रमा रहेका विपन्न न्यून आय वर्गका साथै साना उद्यमीलाई आवश्यक पर्ने भएकोले छुटै कम्पनीमार्फत सञ्चालन गर्ने योजनामा समिति छ।

जीवन लघु बीमाले म्यादी लघु जीवन बीमा, आजीवन लघु बीमा, लघु उद्यम जीवन बीमालगायतलाई समेट्छ। निर्जीवन लघु बीमा कम्पनीले स्वास्थ्य, कृषि, पशुपन्छी र घरलगायतलाई समेट्ने बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*