जनहित बुझेर बीमालाई अघि बढाउन अध्यक्ष सिलवालको निर्देशन, ‘मर्जरपछि कर्मचारीको दक्षता अभिबृद्धि हुनुपर्छ’

७ कार्तिक २०७९, सोमबार १२:००

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनताको हित बुझेर बीमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बीमा क्षेत्रकै दोस्रो मर्जरको रुपमा सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार शुभारम्भग गर्दै बीमा समितिका अध्यक्ष सिलवालले जनताको हित हुने गरी बीमा योजना ल्याएर जनताका जोखिमहरुलाई बीमापोलिसीमार्फत रक्षावरण गर्न आह्वान गरेका छन् ।

अध्यक्ष सिलवालले भने ‘संसारका कुनै पनि राष्ट्रसँग जनताको सबै प्रकारको जोखिम बहन गर्ने रिसोर्स छैन । त्यसैले जनताको जोखिमहरुलाई बीमा कम्पनीमार्फत बहन गरेर जनतालाई राहत दिन नै बीमाको आवश्यकता परेको हो । सरकारले आफैले गर्नेकुरा आफैले गर्नुपर्दछ र आफैले गरेर नगरेपनि हुने कुराहरु बीमालाई जिम्मेवारी दिएको छ । जनताका आफ्ना जोखिमहरु हस्तान्तरण गर्ने माध्यम नै बीमा हो ।’

बीमा समितिका अध्यक्ष सिलवालले मर्जरपछि शक्तिशाली कम्पनी खडा भएपछि बीमा क्षेत्रमा काम गर्ने कर्मचारीहरुको क्षमता अभिबृद्धि हुनुपर्ने बताए । उनले मर्जरपछि कुनै पनि कर्मचारीहरुले खाईपाइ आएको तलव घट्नु नहुने बताउँदै मर्जरपछि कर्मचारीहरुलाई थप दक्ष बनाउनेतर्फ ध्यान केन्द्रीत गर्न निर्देशन दिएका छन् ।

आजदेखि नेपाली बीमा क्षेत्रमा अर्को एउटा कम्पनी घटेको बताउँदै अध्यक्ष सिलवालले बीमा क्षेत्रमा आजको घटना ऐतिहासिक भएको बताए । उनले भने, ‘आजदेखि अर्को एउटा कम्पनी घट्यो, हामीले यो सामान्य काम गरेको होइन, निकै ठूलो कुरा आज सम्भव भएको छ ।’

अध्यक्ष सिलवालले मुलुकमा नयाँ बीमा ऐन आइसकेको बताउँदै अब छिट्टै राष्ट्रिय बीमा नीति समेत बनाएर अघि बढ्ने बताए । अध्यक्ष सिलवालले छिट्टै बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने हुँदा अब नयाँ कानुन अनुसार बीमा कम्पनीहरु चल्नुपर्ने बताए । उनले यसअघि बीमा निर्देशिका मार्फत चलेका थिए, निर्देशिकामा केही तलमाथि भएपनि बीमा समितिले बुझ्न सक्दथ्यो, तर अब ऐनमा भएका कुराहरु अक्षरस पालना गराउनु बीमा समितिको कर्तव्य हो ।’

बीमा क्षेत्रमा ठूलो पुँजि भएको कम्पनीहरुको आवश्यकता थियो । त्यो आवश्यकता पूरा गर्न पनि मर्जरको नीति बीमा समितिले अघि सारेको हो । अहिले हामीसँग दावी भुक्तानी दिने ठूलो रकम आवश्यक पर्यो भने रकम अभाव हुन्छ । आज हामीसँग दक्ष जनशक्तिको अभाव छ । जनशक्तिलाई प्रभावकारी तालिम दिन खर्च गर्न सक्ने अवस्था समेत छैन । त्यसैले बीमा कम्पनीहरुकै क्षमता बृद्धिको लागि चुक्ता पुँजि बृद्धि गर्ने निर्णय गरिएको हो । त्यसैले पुँजिबृद्धि गरेर बीमा कम्पनीहरुलाई क्षमतायुक्त, विश्वासयोग्य बीमा कम्पनीहरुमा रुपान्तरण गर्न यो अभियानको रुपमा अघि बढाइएको हो । खुशीका कुरा छ, थुप्रै बीमा कम्पनीहरु स्वतः स्फूर्त रुपमा मर्जरमा आउनु भएको छ । यो अत्यन्तै उत्साहजनक कुरा पनि छ ।

मर्जरमा गएका बीमा कम्पनीहरुलाई हामीले गर्ने सहयोग र समन्वय गर्न बीमा समिति दिल खोलेर गर्न तयार छ । तपाईहरुले गरेको कामको विस्तार हुनुपर्दछ । मान्छेले पाउने बीमा सेवाहरु सजिलै पाउनु पर्दछ । कम्पनी दोब्बर बलियो र ठूलो भएपछि सेवा विस्तार भई जनताले पाउने सेवा पनि थप सहज, सरल र झन्झटरहित हुनु पर्दछ । यो कुरामा बीमा कम्पनीहरु जिम्मेवार हुनैपर्दछ ।

बीमा समितिका अध्यक्ष सिलवालले नियामक निकाय हुनुको नाताले बीमा समितिबाट प्रवाह हुने काम कारवाहीहरु थप पारदर्शी र सरल बनाइएको बताए । अध्यक्ष सिलवालले कागजात पुगेका सबै कामको लागि थप कागजातमाथि कागजात माग्ने प्रवृत्ति अन्त्य गरिएको बताए । ‘हामीले इन्स्पेक्सन गर्दा कम्पनी ठीक छ भन्ने भएमा कम्पनीहरुलाई अड्काउने, लड्खाउने खालका कुनै नीति छैन । कम्पनीहरु आफै सक्षम छन् भन्ने कुराहरु स्थापित गराउनेतर्फ हाम्रो ध्यान केन्द्रीत छ ।’

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*