सरकारी कर्मचारी र संघ संस्थामार्फत बीमा गरेकाहरुले पहिलो चरणमा कोरोना बीमाको रकम नपाउने, यस्तो छ भुक्तानीको प्रक्रिया

१८ कार्तिक २०७९, शुक्रबार ०७:०९

काठमाडौं । बीमा समितिले कोरोना बीमाको रकम दावी भुक्तानी गर्ने निर्णय गरेसँगै दावी भुक्तानीको प्रतिक्षामा रहेका एक लाख भन्दा बढि मानिसहरु उक्त रकम लिन हतारिएका छन् । विगत लामो समयदेखि नै प्रतिक्षा सूचिमा रहेकाहरु रकम लिन तछाड मछाड गर्दै बीमा कम्पनीहरुमा दवाव दिन सुरु भइसकेको छ ।

बीमा समितिले अर्थमन्त्रालयबाट लिएको स्वीकृत अनुसार सरकारी कर्मचारी, सेना प्रहरी लगायतका सबै सरकारी कर्मचारीहरु र संघ तथा संस्थाबाट बीमा शुल्क भुक्तानी भई बीमा गराएकाहरुले कोरोना बीमाको रकम दोस्रो प्राथमिकतामा मात्रै पाउनेछन् ।

बीमा समितिले व्यक्तिगत रुपमा नगद भुक्तानी गरी बीमा गरेकाहरुलाई पहिलो दावी भुुक्तानी गर्नेलाई पहिलो प्राथमिकता दिई वितरण गर्र्ने निर्णय गरेको छ । यस्तो निर्र्णयसँगै २०७७ सालमा कोरोना पोजेटिभ भई दावी गरेकाहरुले पहिलो प्राथमिकतामा पाउनेछन् भने उक्त सकिएपछि २०७८ सालमा कोरोना पोजेटिभ भई दावी गरेकाहरुले पाउनेछन् ।
बीमा समितिले जारी गरेको कोरोना बीमाको दावी भुक्तानी सम्बन्धी निर्देशनमा बीमित आफैले शुल्क तिरी बीमा गरेकाहरुलाई पहिले दावी गर्नेलाई पहिलो पाउने गरी भुक्तानी हुनेछ ।

बीमा समितिले अर्थमन्त्रालयबाट स्वीकृत पाएको भुक्तानी कार्यविधि अनुसार बैंक वित्तीय संस्था, अन्य संघ संस्थाको नाममा कोरोना बीमा गराएकाहरुले समेत तत्काल भुक्तानी पाउने छैनन् ।

बीमा समितिले कोरोना बीमाको रकम सबैले पाउने हुँदा धैर्यतापूर्वक प्रतिक्षा गर्न समेत अपिल गरेको छ । समितिले कोरोना बीमाको रकम भुक्तानी गर्न यसअघि सञ्चालन गरिएको कोरोना बीमापुललाई रकम हस्तान्तरण भई पुलमार्फत कम्पनीहरुलाई रकम बाँडफाँड हुनेछ ।

पहिलो बीमा दावी गरेको तथा व्यक्तिगत रुमा शुल्क बुझाएकाहरुको रोस्टर तयारी पारी बीमा कम्पनीहरुले भुक्तानी सम्बन्धी सूचि तयार पार्नुपर्ने भएकोले आज वा भोलि नै रकम हात नपर्न सक्छ । त्यसको लागि केही समय लाग्न सक्ने हुँदा बीमितहरुले धैर्यतापूर्वक कम्पनीमा सम्पर्क गर्दै गर्नुपर्नेछ ।

कोरोना बीमाको दावी भुक्तानी पाउन बाँकी एक लाख १५ हजार भन्दा बढि बीमित मध्ये पहिलो चरणमा करिब १९ हजार जनाले दावी भुक्तानी पाउनेछन् । भने बाँकी बीमितलाई पुनः कोरोना बीमाको रकम भुक्तानी हुनेछ ।

कुनै पनि महामारीको बीमा गर्नु नहुने सिद्धान्त भएपनि बीमा समितिका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईको पालामा २०७७ साल बैशाख ७ गतेबाट कोरोना बीमा पोलिसी जारी गरिएको थियो । एक अर्ब २० करोड रुपैयाँ बीमा शुल्क उठाइएको कोरोना बीमाका करिब १५ अर्ब रुपैयाँ दावी भुक्तानी परेपछि भुक्तानी गर्न नसकिएको हो । कोरोना बीमा कुनै कम्पनी विशेष भन्दा पनि कोरोना बीमा पुलमार्फत सामूहिक रुपमा सञ्चालन गरिएको बीमा योजना हो । यद्यपि कोरोना बीमामा पोलिसी कम्पनीहरु आफैले जारी गरेका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*