कोरोना बीमाको रकम भुक्तानी गराउने बारे बीमा प्राधिकरण र बीमा कम्पनीका सिईओहरुबीच छलफल

७ मंसिर २०७९, बुधबार ०८:३७

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी गर्ने भन्ने सम्बन्धमा बीमा कम्पनीहरुमै विवाद बढेपछि अन्योलता सिर्जना भएको छ । अधिकांश बीमा कम्पनीका सञ्चालक समितिले कोरोना बीमाको दावी भुक्तानी गर्ने निर्णय सञ्चालक समितिबाट हालसम्म गरेका छैनन् ।

बीमा कम्पनीका अध्यक्षहरुले लाखौं सर्वसाधारणको जोखिम धारण गरिएको बीमा रकमबाट कोरोना बीमाको दावी भुक्तानी गर्नुपर्र्ने बीमा प्राधिकरणको निर्णय बीमाको सिद्धान्त विपरित भएको भन्दै कोरोना बीमा मापदण्डभन्दा बाहिर गएर दावी भुक्तानी नगर्ने चर्को अडान लिइरहेका छन् ।

कोरोना बीमाको बक्यौता ११ अर्ब ४३ करोड रकम भुक्तानी गर्न भन्दै सरकारले एक अर्ब रुपैयाँ निकासा गरेपछि बीमा प्राधिकरणले बीमा कम्पनीहरुबाट समेत रकम उठाएर कोरोना बीमाको रकम भुक्तानी गराउन खोजिरहेको छ । सो सम्बन्धमा बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीका सिईओहरुलाई बोलाएर कोरोना बीमाको दावी भुक्तानी सम्बन्धमा छलफल गरेका हुन् । बीमा प्राधिकरणमा छलफल भनेर बोलाइएको बैठकमा एक साताको समयावधी दिएर अर्को साताबाट दावी भुक्तानी गर्न निर्देशन दिइएको एक बीमा कम्पनीका सिईओले बीमापोष्टलार्ई बताए ।

छलफलमा बीमा कम्पनीका सञ्चालक समितिले निर्णय गर्न नमानेको सन्दर्भमा कुनै कुराकानी भएको छैन । बीमा प्राधिकरणले एकतर्फी रुपमा एक साताको समय दिइएको र अध्यक्ष तथा सञ्चालकहरुलाई मनाएर उक्त अवधीभित्र निर्णय गराउन सिईओहरुलाई भनिएको छ ।

उता, बीमा प्राधिकरणले बलपूर्वक दवाव दिएर मात्रै कोरोना बीमाको दावी भुक्तानी सहज नहुने एक बीमा कम्पनीका सिईओले बताए । सरकारसँग डिल गरेर कोरोना बीमाको भुक्तानी गरे बापत बीमा कम्पनीहरुलाई छुट सुुविधा दिएर प्रोत्साहन गर्न नसकेको गुनासो छ । मौखिक रुपमा कर समायोजनको कुरा गरेर नहुने सिईओहरुको भनाई छ । एक सिईओले भने, ‘भुकम्पको समयमा सहयोग गर्नेलाई कर छुट हुन्छ भनियो, सबै बीमा कम्पनीहरुले पाँच–पाँच लाख रुपैयाँ सरकारी कोषमा जम्मा गर्यौं, कर छुट भनेर भुकम्प पीडितलाई दिएको रकम पाँच वर्षपछि हजारौं रुपैयाँ जरिवना तिर्नुपर््यो । प्याकेजमा छलफल गर्दा उत्तम हुन्छ ।’

बीमा कम्पनीका अध्यक्षहरुले बीमा क्षेत्रलाई अनावश्यक दोहन गर्दा यसको दीर्घकालिन असर पर्ने भएकोले जोखिम मूूल्याङ्कन, प्रभाव मूल्याङ्कन गरेर निर्णय गर्नुपर्ने भन्दै सामूहिक रुपमा छलफल गरेर निर्णय गर्ने अडानमा रहेका छन् ।

उता, नेपाल पुनर्बीमा कम्पनीले समेत कोरोना बीमा बापतको भुक्तानी नदिने अडान राखेको छ । नेपाल पुनर्बीमा कम्पनीले कोरोना बीमा मापदण्डमा उल्लेख भए बमोजिम एक अर्र्ब रुपैयाँ आफूहरुले भुक्तानी गरिसकेको जनाउँदै, दायित्व नै स्वीकार नगरिएको, बीमा शुल्क नै नलिएको कोरोना बीमाको दावी भुक्तानी गर्दा कम्पनीको अन्तर्राष्ट्रिय साख गुम्न सक्ने भएकोले बीमा प्राधिकरणले भन्ने वित्तिकै निर्णय गर्न सक्ने अवस्थामा नभएको कम्पनीको भनाई छ ।

नेपाल पुनर्बीमा कम्पनीले नेपालसहित विश्वका २८ देशमा व्यवसाय गर्दै आएको छ । केही अघि सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलनमा सहभागी भएको कम्पनीले आगामी दिनमा अझै विस्तार गरी ५० भन्दा बढि देशमा व्यवसाय विस्तार गर्ने लक्ष्य लिएको जनाउँदै बीमाको सिद्धान्त, मूल्य मान्यता र भुक्तानी स्वीकार गरिएका बीमा दावी भुक्तानी छरितो र सरल बनाउने तर दायित्व नै स्वीकार नगरे कोरोना बीमाको रकम भुक्तानी गर्न बाध्य नहुने अडन लिँदै आएको छ । नेपाल पुनर्बीमा कम्पनीलाई कारवाही किन नगर्ने भनेर बीमा प्राधिकरणले स्पष्टिकरण समेत सोधिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*