प्रहरीले प्रधानमन्त्रीविरुद्ध नारा लगाउने युवाको मुखै थुन्दै लियो नियन्त्रणमा

७ चैत्र २०७९, मंगलवार १६:३५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध बानेश्वरमा नाराबाजी गरेका छन् । ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । प्रहरीले धरपकड गर्दै ती युवाहरुलाई मुखसमेत थुनेर बाहिर निकाल्दै गर्दा प्रचण्ड हलतिर छिरे।

उनीहरुले ‘गरिबमारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, मिटर ब्याज ब्याक गर्, युवाहरुलाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन जस्ता नारा लगाए। प्रहरीले मुख नै थुन्दै बाहिर निकाल्दै गर्दा ती युवाले ’आतंककारी प्रचण्ड मुर्दाबाद’को नारासमेत लगाउन भ्याए।

उनीहरुलाई नारा लगाउन नदिन प्रहरीले मुख थुनिदियो भने लछारपछार पार्दै पार्टी प्यालेसबाट बाहिर निकाल्यो। त्यसपछि प्रचण्डले केहीबेर भाषण गरेर त्यहाँबाट बाहिरिए। आफूहरुलाई स्वतन्त्र युवा अभियन्ता भनेर प्रचण्डविरुद्ध नारा लगाउने तीनजनालाई प्रहरीले त्यहाँबाट पक्राउ गरेको थियो।

काठमाडौं प्रहरी परिसरका एसपी सीताराम रिजालका अनुसार तीनजनालाई पक्राउ गरेर बानेश्वर वृत्तमा राखिएको छ।
पक्राउ पर्नेमा ३० वर्षीय सोम शर्मा, बाग्लुङ, १८ वर्षीय विप्लव खड्का, बझाङ र २३ वर्षीय उद्धव बस्नेत, सोलुखुम्बु रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*