झण्डै आइपीओकै मूल्यमा यी सात वाणिज्य बैंकको शेयरमूल्य, लगानीकर्तालाई लगानीको अवसर

७ चैत्र २०७९, मंगलवार १७:३०

काठमाडौं । वाणिज्य बैंकहरुको संख्या २६ बाट घटेर हाल २१ वटा भएका छन् । जसमध्ये पनि लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडले एकीकृत कारोबार संचालन गरेपछि वाणिज्य बैंकहरुको संख्या १९ हुनेछ ।

संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंक बाहेक सबै बैंकहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान दबाब दिएसँगै बैंकहरु एकआपसमा मर्जरमा गई संख्या घट्न पुगेको हो । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये वाणिज्य बैंकहरुको शेयर लगानीकर्ताहरुको रोजाइमा पर्ने गर्दछ । ‘लङ टर्म’ को लागि प्रोफिट बेस र ‘रिस्क’ कम हुने भएका कारण बैंकहरुको शेयर लगानीकर्ताहरुको रोजाईमा बढी पर्ने देखिएको हो ।

तर पछिल्लो समय बैंकिङ्ग प्रणालीमा देखिएको समस्या तथा अराजकता र बैंकहरुमा देखिएको तरलता अभावको समस्याका कारण बैंकहरुको शेयरमूल्य घट्दै गइरहेको छ । सबैभन्दा बढी करिब हजार ९ सयको हाराहारीमा रहेको नबिल बैंकको शेयरमूल्य यतिबेला घटेर ६१३ रुपैयाँ पुगेको छ ।

२१ वटा बैंकमध्ये आधा दर्जन बैंकहरुको शेयरमूल्य यतिबेला धितोपत्र दोस्रो बजारमा करिब आइपीओकै मूल्यमा पाइन थालेको छ । यो लगानीकर्ताहरुका लागि लगानीको अवसर पनि हुन सक्छ । सो कारण केही दिनयता दोस्रो बजारमा बाणिज्य बैंकहरुको शेयर सर्वाधिक खरिद माग हुने गरेको नेप्सेको ट्रान्सजेक्सन हिस्ट्रिमा देख्न सकिन्छ ।

सोमबार शेयरबजार बन्द हुनुभन्दा अघिसम्म सात वटा वाणिज्य बैंकहरुको शेयरमूल्य २ सय रुपैयाँ भन्दा कम हुन पुगेको छ । जसमा सबैभन्दा कम कुमारी बैंक लिमिटेडको १७८ रुपैयाँ ९० पैसा रहेको छ । २०८ रुपैयाँसम्म हाइप्राइस पुगेको कुमारी बैंकको शेयर यतिबेला १७८ रुपैयाँमै किन्न सकिन्छ ।

त्यस्तै, अर्को सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेको प्रभु बैंकको शेयरमूल्य पनि यतिबेला १७९ रुपैयाँ पुगेको छ । सेन्चुरीलाई प्राप्ति गरेपछि सूचीकृत भएको कम्पनीको शेयर २२८ रुपैयाँसम्म पुगेको थियो । यतिबेला बैंकको शेयरमूल्य घटेर १७९ रुपैयाँ पुगेको छ ।

साथै सिटिजन्स बैंकको शेयरमूल्य १८० रुपैयाँ, लक्ष्मी बैंकको १८२ रुपैयाँ, सनराइज बैंकको १८२ रुपैयाँ ९० पैसा, ग्लोबल आइएमई बैंकको शेयरमूल्य १८८ रुपैयाँ १० पैसा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १९१ रुपैयाँ ४० पैसा पुगेको छ । यी सात बाणिज्य बैंकको शेयरमूल्य धितोपत्र दोस्रो बजारमा दुईसय रुपैयाँ भन्दा कम मै पाइन्छ । लगानीकर्ताहरुको लागि यतिबेला उक्त बैंकहरुको शेयर खरिद गर्ने उपयुक्त समय हुन सक्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*