लाभांश पारित गर्दै छिमेक लघुवित्तको २१औं साधारण सभा सम्पन्न, चुक्तापुँजी पौने ३ अर्ब पुग्ने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा हेटौंडा–४ मकवानपुर स्थित होटल सामना सम्पन्न भएको हो ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.२६ प्रतिशत नगद लाभांश गरी कुल २५.२६ प्रतिशत लाभांश पारित गरेको छ ।
साथै सो सभामार्फत संस्थाले आफ्नो अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँबाट बृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गरेको छ । यसबाहेक संस्थाले बोनस शेयर जारी गरी वित्तीय संस्थाको जारी तथा चुक्तापुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ पुर्याउने सम्बन्धि विशेष प्रस्तावसमेत पारित गरेको छ ।
यसका अलावा सभामा अन्य कुनै वित्तीय संस्थाहरुलाई मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै, गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ संस्थाले फागुन २५ गते एकदिनका लागि बुकक्लोजको गरेको थियो । यसर्थ फागुन २४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
संस्थाले हाल सम्ममा ६९ जिल्लामा १९५ वटा शाखा मार्फत कुल ४ लाख २७ हजार १ सय ७३ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७८।७९ मा ९४ करोड ७२ लाख २२ हजार ७३ रुपैया ६४ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसै गरी यस वित्तीय संस्थाको अधिकृत पूंजी २ अर्ब ५० करोड रुपैयाँबाट वृद्धि गरि ३ अर्ब ७५ करोड पुयाउने निर्णय समेत यस साधारण सभाले गरेको छ ।
सो सभाको अवसरमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राखेका थिए । साथै ग्रामिण क्षेत्रमा पिछडिएका तथा विपन्न वर्गका महिलाको आर्थिक एवं सामाजिक विकासमा निरन्तर समर्पित भई यस वित्तीय संस्थामा अनवरत रुपमा १६ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीहरुलाई यस वित्तीय संस्थाको उन्नति प्रगतीमा पुरÞ्याएको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै २१औं वार्षिक साधारण सभाको अवसरमा कदर पत्र समेत प्रदान गरीएको थियो ।