७३ प्रतिशत लाभांश घोषणा गर्दा पनि किन घट्यो नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य ? होला त लाभांश पारित ?

१२ चैत्र २०७९, आईतवार १३:१०

काठमाडौं । धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुको रोजाइमा पर्ने नेष्डो समृद्ध लुघवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य लगातार घट्दै गइरहेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई आजैमात्र बम्पर लाभांश प्रस्ताव गरेको छ ।

संस्थाले सो आर्थिक वर्षको संचित मुनाफाबाट कायम चुक्तापुँजीको ५० प्रतिशत बोनस शेयर र २३ प्रतिशत नगद लाभांश (कर समेत) गरेर कुल ७३ प्रतिशत लाभांश घोषणा गरेको हो । अधिकांश कम्पनीहरुले लाभांश घोषणा गर्दा धितोपत्र दोस्रो बजारमा सो कम्पनीको खरिद माग बढ्न जान्छ ।

कम्पनीहरुले प्रस्ताव गरेको लाभांश पाउन लगानीकर्ताहरुले शेयरबजारमा उच्च खरिद माग राख्दा कम्पनीहरुको शेयरमूल्य माग बढेबमोजिम स्वतः बढ्न जान्छ । तर नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने लाभांश घोषणा गरेकै दिनमा उच्च घट्न पुगेको छ ।

बढेर ३३ सय रुपैयासम्म पुगेको संस्थाको शेयरमूल्य यतिबेला घटेर २४ सयमा झरेको छ । आज शेयरबजार खुलेको केही समयसम्म लुघवित्तको शेयरमूल्य झिनो प्रतिशतले बढेपनि बजार खुलेको केही समयलगत्तै घट्न थालेको छ । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयरमूल्य २.१७ प्रतिशतले घटेर अर्थात ५३ रुपैयाँले घटेर २३८७ रुपैयाँमा कायम हुन पुगेको छ ।

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुमा लाभांश तिवरणमा मापदण्ड तोकिदिएको छ । राष्ट्र बैंकको मापदण्डअनुसार लघुवित्त संस्थाहरुले कायम चुक्तापुँजीको २० प्रतिशतभन्दा बढी बोनस शेयर वितरण गर्न पाउने छैनन् । यदि सो वा सो भन्दा बढी बोनस वितरण गर्नुपरेमा सम्बन्धीत संस्थाले १५ प्रतिशतभन्दा बढीको लाभांश रकम बेग्लाबेग्लै कोषहरुमा संचित गर्नुपर्ने हुन्छ ।

नेष्डो समृद्ध लघुवित्तले नेपाल राष्ट्र बैंकको मापदण्ड विपरित लाभांश प्रस्ताव गरेको छ । यसअघि लगानीकर्ताहरुको रोजाइमा पर्ने जीवन विकास लघुवित्तले पनि लाभांश प्रस्ताव गर्दा केन्द्रीय बैंकले दुईपटक सम्म संशोधन गरेको थियो । यदि नेष्डो समृद्ध लघुवित्तले पनि १५ प्रतिशत नगद लाभांश जगेडा कोष लगायतका विभिन्न कोषमा संचित नगरेमा ५० प्रतिशत बोनस शेयर संशोधन भएर १५ प्रतिशतमा झर्न सक्नेछ ।

यसैका कारण पनि आज शेयरबजारमा लगानीकर्ताहरुले नेष्डो समृद्ध लघुवित्तले बम्पर लाभांश प्रस्ताव गरेतापनि खरिद भन्दा पनि बिक्री गर्न थालेका छन् । यसकारण संस्थाको शेयरमूल्य झनै घट्दै गइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*