राष्ट्र बैंक र नेष्डो समृद्ध लघुवित्तको कुरा नमिल्दा लाभांश प्रस्तावको कुरा अझै टुंगिएन, पुरानै बम्पर लाभांशबाट नहट्ने लघुवित्तको अडान

१९ बैशाख २०८०, मंगलवार १९:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्तले प्रस्ताव लाभांशमा घटाएपछि लगानीकर्तामा अन्यौलता सिर्जना भएको छ । राष्ट्र बैंकले घटाएर पठाएको लाभांश आफूहरुले कार्यान्वयन नगर्ने नेष्डो समृद्ध लघुवित्तले अडान लिएपछि लगानीकर्ताहरुमा अब लाभांश पाइन्छ वा पाइँदैन भन्ने अन्यौलता बढेको हो।संस्थाको सञ्चालक समितिको गत चैत ९ गते बसेको बैठकले आर्थिक वर्ष २०७८–७९का लागि चुक्तापुँजी २५ करोड २५ लाख रुपैयाँमा उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट ७३.६८ प्रतिशतले हुन आउने १८ करोड ७८ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

प्रस्तावित लाभांशमा ५० प्रतिशतले हुन आउने १२ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर, २० प्रतिशतले हुन आउने ५ करोड १० लाख रुपैयाँबराबरको नगद लाभांश थिए। कर प्रयोजनार्थ ३.६८ प्रतिशतले हुन आउने ९३ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको रकम संस्थाले छुट्याएको थियो।

योसँगै नेष्डो समृद्ध लघुवित्तले बम्पर लाभांशमा पनि राष्ट्र बैंकले कैंची चलाउने हो कि भन्ने चिन्ता र संशय लगानीकर्तामा परेको थियो। नभन्दै राष्ट्र बैंकले वैशाख ४ गते नेष्डो समृद्ध लघुवित्तलाई पत्र पठाउँदै चुक्तापुँजीको १७.९३४२ प्रतिशतले हुन आउने लाभांश (बोनस वा नगद तथा करसहित) वितरण गर्न निर्देशन दिएको छ। लामो समयदेखि नेष्डो समृद्धि लघुवित्तले राष्ट्र बैंकले नियम पुराएर लाभांश वितरण गर्दा पनि असहयोग गरेको भन्दै प्रेस विज्ञप्ती जारी गर्दै आएको थियो ।

लघुवित्तले केन्द्रिय बैंकको नियम अनुसार रहेर १५ प्रतिशतभन्दा माथि लाभाश बाड्न खोज्दा पनि राष्ट्र बैंकले अंकुश लगाएको भन्दै यस बिषयमा कानुनी परामर्शको लागि अदालत जाने भएको छ ।राष्ट्र बैंकको लाभांश संसोधन लगानीकर्ताको हित विपरित र समग्र कानुनी व्यवस्थासँग बाझिएको हुँदा तुरुन्त लाभांश संसोधन गरी साधारणसभा आह्वान नगरि कानुनी परामर्शमा जाने संस्थाले निर्णय लिएको जनाएको छ।आफूहरुले राष्ट्र बैंकले फागुन १० गते ल्याएको परिपत्रअनुसार नै लाभांश घोषणा गरेकोले अहिले घटाएर पठाइएको लाभांश कुनै हालतमा कार्यान्वयन गर्ने अडान नेष्डो समृद्ध लघुवित्तले लिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*