फिस्कल स्पेश खोज्ने हो भने व्यापक स्पेश छ भन्दै अर्थमन्त्रीलाई सांसद डा. वाग्लेले दिए सुझाव

२५ बैशाख २०८०, सोमबार १८:२९

काठमाडौं । अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले वित्त नीतिमा लचिलो बन्ने स्पेस छैन भन्ने कुरा असपष्ट भएको बताएका छन् ।बजेटको सिद्धान्त तथा प्राथमिकतामा स्पेस छैन भन्नु जायज नभएको भन्दै आफनो धारणा भएको व्यक्त गरेका छन् ।

कर्जा लगानी र आर्थिक वृद्धि बीच ठूलो खाडल रहेको उनले बताएका छन् । वस्तु सेवा आयात र निर्यात, उपभोग्य वस्तु र उपभोग बीचको फरकलाई उनले हेर्न आग्रह गरेका छन् ।उनले अर्थमन्त्रीको भनाइ गलत भएको बताएका छन् । सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा आफ्नो धारणा राख्दै उनले खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने लचिलो बन्ने पर्याप्त ठाउँ रहेको बताएका हुन् ।

उनले बजेटको सिद्धान्त तथा प्राथमिकतामा दीगो विकास र जलवायु परिवर्तनका कुरा आउनु सकारात्मक भएको बताए । तर त्यसबाट अर्थतन्त्रमा कसरी अगाडि लैजाने भन्ने रोडम्याप नदेखिएको बताए । ‘अर्थमन्त्रीले वित्त नीतिमा लचिलो र रचनात्मक हुने अवस्था छैन, मौद्रिक उपकरणबाट मात्रै अगाडि जान्छौं भनेको सुनियो । यो गलत हो,’ उनले भने, ‘वित्त नीतिमा खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने पर्याप्त ठाउँ छ । यसको लागि जलवायु परिवर्तन र दीगो विकासको मुद्दाबाट पनि अगाडि बढ्न सक्नुहुन्छ ।’

उनले अब पहिलो जेनेरेसनको विकासको चुनौतीमा रुमलिनेभन्दा पनि दोस्रो जेनरेसनको विकास चुनौतीसँग अगाडि बढ्नु पर्ने बताए ।हिजोको धुले सडक, विद्यालय भवन र खानेपानी अहिलेको प्राथमिकता होइन। अब कसरी गुणस्तरीय शिक्षा र पूर्वाधार दिने भन्ने प्राथमिकता हुनपर्छ । जुन कुरा नीति तथा कार्यक्रम र बजेटमा कन्भिन्स हुनेगरी प्रतिविम्बित हुनुपर्छ,’ उनले भने, ‘बजेटको सिद्धान्त तथा प्राथमिकतामा त्यो पाइएन । यसमा सुधार गर्नुहोला भन्ने आग्रह छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*