धितोपत्र बजार पुँजीकरण २८ खर्बमाथि, बैंक वित्त र बीमा कम्पनीको हिस्सा ६३ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनासम्ममा नेप्से सूचकाङ्क १९३४.४८ विन्दुमा कायम हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नौ महिनासम्मको तथ्याङ्कअनुसार २०७९ चैत मसान्तमा धितोपत्र बजार पँुजीकरण २८ खर्ब १३ अर्ब ५५ करोड कायम भएको छ ।
२०७८ चैत मसान्तमा बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब ११ करोड रहेको थियो । २०७९ चैतमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४१ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ६ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ चैतमा सूचीकृत कम्पनीहरूको संख्या २२९ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १४.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा २.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९।८० को नौ महिनामा १ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ बराबरको साधारण शेयर, ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३१ अर्ब ८४ करोड रुपैयाँ बराबरको बोनस शेयर, ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ४ अर्ब ११ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल २ खर्ब ७१ अर्ब १९ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।